कीवर्डहरू -

सिरहामा एसईईमा बरामद ४९६ मोबाइल र ५ स्मार्टवाच पानीमा डुबाएर नष्ट

सिरहामा एसईईमा बरामद ४९६ मोबाइल र ५ स्मार्टवाच पानीमा डुबाएर नष्ट

सिरहा । जिल्ला परीक्षा समन्वय समिति सिरहाले गत चैतमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा परीक्षार्थीबाट बरामद गरिएका ४९६ वटा मोबाइल फोन र पाँच वटा स्मार्टवाच नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाको प्राङ्गणमा बिहीबार स्थानीय तहका जनप्रतिनिधि, शिक्षा समितिका पदाधिकारी र सञ्चारकर्मीहरूको रोहबरमा ती उपकरण नष्ट गरिएको हो ।

नष्ट गरिएका उपकरणमा सात वटा आइफोन, ४८९ वटा एन्ड्रोइड फोन र पाँच वटा स्मार्टवाच रहेका छन् । ती सबैको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको जनाइएको छ ।

जिल्ला परीक्षा समन्वय समितिले मधेस प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा नष्ट गर्ने घोषणा गरेको निर्देशनअनुसार उपकरण नष्ट गर्ने निर्णय गरेको थियो ।

परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग भएको ठहर गर्दै समितिले उपकरण व्यवस्थापनका लागि पाँच सदस्यीय उपसमिति पनि गठन गरेको थियो ।

उपसमितिमा शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि सहभागी थिए ।

उपसमिति संयोजक यादवका अनुसार बरामद मोबाइल तथा स्मार्टवाच २४ घण्टासम्म पानीमा राखिएको थियो । वाटरप्रुफ सेटहरूलाई फुटाएर पानीमा हालेर पूर्ण रूपमा प्रयोगयोग्य नहुने बनाइएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेशकुमार पालले यो निर्णय प्रहरीको एकल नभई समन्वय समितिको भएको बताए । उनका अनुसार परीक्षाको मर्यादा विपरीत कार्य नगर्न पहिले नै सूचित गरिएको थियो र अहिलेको प्रक्रिया पूर्वनिर्णयको कार्यान्वयन मात्र हो ।

यता जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जफत गरिएका मोबाइल लिलाम गर्दा भविष्यमा सुरक्षा र कानुनी चुनौती आउन सक्ने बताए । उनले एक पटक प्रयोग भइसकेको आईएमईआई नम्बर भएको सेट अर्को व्यक्तिलाई बिक्री गर्दा जटिलता आउने उल्लेख गरे ।

कानुनअनुसार एक लाख रुपैयाँ जरिवाना र एक वर्ष कैदको व्यवस्था भएपनि विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर कडा अभियोग नलगाइएको उनको भनाइ छ ।

मोबाइल नष्ट गरिएको भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएका छन् । कतिपयले जरिवाना लिएर मोबाइल फिर्ता दिनुपर्ने वा लिलामी गरेर रकम शिक्षा क्षेत्रमा लगाउनु पर्ने सुझाव दिएका छन् ।

केहीले भने अभिभावकले दुःख गरेर किनिदिएको मोबाइल नष्ट गर्दा मानवीय संवेदनाको ख्याल नगरिएको र बैंकिङ एप तथा निजी विवरणका कारण गोपनीयतामा असर पर्न सक्ने तर्क गरेका छन् ।

अभिभावक तथा सरोकारवालाहरूको मागलाई बीचमा राख्दै पनि सम्बन्धित निकायले परीक्षा मर्यादा कायम राख्नका लागि नष्ट गर्ने निर्णय कार्यान्वयन गरेको जनाएको छ । मधेस प्रदेशमा एसईईका क्रममा यसरी ठूलो सङ्ख्यामा मोबाइल नष्ट गरिएको यो पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।