कीवर्डहरू -

हराएको सिमकार्डको दुरुपयोग गरी २४ लाखभन्दा बढी ठगी, २ जना पक्राउ

हराएको सिमकार्डको दुरुपयोग गरी २४ लाखभन्दा बढी ठगी, २ जना पक्राउ

काठमाडौं । सिमकार्डको दुरूपयोग गरी ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका १ सृजनानगर बस्ने सिन्धुली फिक्कल गाउँपालिका ४ घर भएका २६ वर्षीय रोशन पहाडी र ललितपुर महानगरपालिका १३ बस्ने डडेल्धुरा अमरगढी नगरपालिका ८ घर भएका २५ वर्षीय सुभाष ओझा रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रोशनलाई भक्तपुर नगरपालिका १ सल्लाघारीबाट र सुभाषलाई ललितपुर महानगरपालिका १४ एकान्तकुनाबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा २०७० साल असोज २ मा कान्छी लामाको नाममा ९८१८०९१८७१ नम्बरको सिमकार्ड जारी भएको थियो जुन दुरूपयोग  भएको पाइएको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा नेपाल क्रेडिट एण्ड कमर्स बैंक हाल कुमारी बैंकको मोबाइल बैकिङ सेवामा पीडितको प्रयोग भएको सिमकार्ड हराएपश्चात उक्त सिमकार्ड रोशनले लिएको, सिम पुनस् एक्टिभ भएपछि पीडितको कुमारी बैंकको खातामा जम्मा भएको रकमको म्यासेज आउन थालेको, उनीहरूले कुमारी बैंकको मोबाइल बैंकिङ सेवा खोली उक्त रकम विभिन्न व्यक्तिहरुको ईसेवा खाता, खल्ती खाता तथा विभिन्न ब्यक्तिहरुको खातामा ट्रान्सफर गरी उक्त रकम झिक्न लगाई रकम लिएको खुल्न आएको छ ।

साथै उनीहरूले मोबाइल बैंकिङको दुरूपयोग गरी २४ लाख ४७ हजार ५ सय २८ रूपैयाँ विभिन्न बैंक एकाउण्ट तथा वालेटहरूमा ट्रान्सफर गरी रकम हिनामिना गरेको समेत खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।