काठमाडौं । के तपाईंले कहिल्यै सोच्नुभएको छ, तार विना नै हाम्रो मोबाइल, ल्यापटप वा टिभीले इन्टरनेट कसरी चलाउँछ ? यो जादूजस्तो लागेपनि, यसको पछाडि भौतिक विज्ञान र कम्प्युटर विज्ञानको अनौठो संयोजन छ । वाइ-फाइले रेडियो तरंग (Radio Waves) प्रयोग गरेर तपाईंको डिभाइस र राउटर (Router) बीच सूचना आदानप्रदान गर्छ, र यसले हामीलाई केबलको बन्धनबाट मुक्त बनाउँछ । आउनुहोस्, हावामार्फत इन्टरनेट पुर्याउने यो प्रविधिलाई सरल रूपमा बुझौं ।

सबैभन्दा पहिले, वाइ-फाइले दुई प्रकारका रेडियो फ्रिक्वेन्सी प्रयोग गर्छ: २.४ गिगाहर्ज (GHz) र ५ गिगाहर्ज । फ्रिक्वेन्सी भनेको तरंगको आवृत्ति नाप्ने एकाइ हर्ज (Hz) मा मापन गरिने मात्रा हो । यसलाई सम्झन समुन्द्र किनारको दृश्य कल्पना गर्नुहोस्, तपाईं बालुवामा बसिरहनुभएको छ, छालहरू किनारामा ठोक्किएको हेरिरहनुभएको छ । एउटा छालपछि अर्को छाल आउने समयको अन्तर नाप्नुभयो भने, त्यो वेबको फ्रिक्वेन्सी हो । एक हर्ज भनेको प्रति सेकेन्ड एउटा वेब आउनु हो । तर एक गिगाहर्ज भनेको प्रति सेकेन्ड एक अर्ब वेब हरू आउनु हो! फ्रिक्वेन्सी जति उच्च हुन्छ, प्रति सेकेन्ड त्यति धेरै डेटा पठाउन सकिन्छ । त्यसैले ५ गिगाहर्ज ब्यान्डले छोटो दूरीमा तीव्र गति दिन्छ भने २.४ गिगाहर्ज लामो दूरी र पर्खाल पार गर्न सक्षम हुन्छ ।
यी दुई फ्रिक्वेन्सी ब्यान्डलाई धेरै साना च्यानल (Channel) मा विभाजन गरिएको हुन्छ, ताकि धेरै डिभाइसले एकैपटक सञ्जाल प्रयोग गर्दा ट्राफिक जाम र अवरोध (Interference) नहोस् । अब यी च्यानलहरूमा डेटा कसरी साटासाट हुन्छ, त्यो नै वास्तविक जादू वा भनौं, कम्प्युटर विज्ञान हो ।

प्रक्रियाको पहिलो चरण तपाईं (प्रयोगकर्ता) बाट सुरु हुन्छ । जब तपाईं कुनै वेबसाइट खोल्नुहुन्छ वा भिडियो प्ले गर्नुहुन्छ, तपाईंको फोन वा कम्प्युटरले त्यो अनुरोधलाई बाइनरी कोड (Binary Code) मा बदल्छ । बाइनरी कोड कम्प्युटरको भाषा हो, जुन केवल १ र ० को शृङ्खला हो । तपाईंले यो लेखमा क्लिक गर्ना साथ, त्यो क्लिक शून्य र एकको लामो लहर बन्छ । त्यसपछि तपाईंको डिभाइसभित्र भएको वाइ-फाइ चिप (Wi-Fi Chip) ले ती १ र ० हरूलाई रेडियो तरंगमा बदल्छ । हरेक बाइनरी संकेतलाई एउटा निश्चित फ्रिक्वेन्सीको तरंग दिएर मोड्युलेट (Modulate) गरिन्छ, जस्तै अलि फरक आकारका छालहरू ।

त्यसपछि ती अदृश्य रेडियो तरंगहरू माथि बताइएका च्यानलहरू हुँदै हावामा यात्रा गरेर तपाईंको राउटरसम्म पुग्छन् । राउटरले ती फ्रिक्वेन्सीहरूलाई फेरि डिमोड्युलेट (Demodulate) गरेर बाइनरी कोडमा अनुवाद गर्छ । अब राउटरले त्यो कोडलाई वास्तविक इन्टरनेट ट्राफिकको रूपमा चिन्छ र हार्डवायर्ड इन्टरनेट केबल (Hardwired Internet Cable) मार्फत बाहिरी संसारमा पठाउँछ । बाहिरको सर्भरले तपाईंले मागेको वेबपेज वा भिडियो फेला पारेर उही बाटो (फाइबर अप्टिक केबल, राउटर, रेडियो तरंग) हुँदै तपाईंकहाँ फर्काउँछ । डेटा फर्कंदा, राउटरले बाइनरी डेटालाई फेरि रेडियो तरंगमा बदल्छ र डिभाइसको वाइ-फाइ चिपले त्यसलाई ग्रहण गरेर फेरि बाइनरी कोडमा अनुवाद गरी स्क्रिनमा देखाउन मिल्ने चित्र, अक्षर वा आवाज बनाउँछ ।

यो सबै चक्र यति तीव्र गतिमा दोहोरिन्छ कि हामीलाई आँखा झिम्क्याउने समय पनि लाग्दैन । अधिकांश आधुनिक राउटरहरू ५४ मेगाबिट प्रति सेकेन्ड (Mbps) भन्दा निकै माथिको गतिमा काम गर्छन्, अर्थात् हरेक सेकेन्डमा करोडौं १ र ० हरू तिनीहरूले लिन र पठाउन सक्छन् । नयाँ वाइ-फाइ ६ र ६ ई मापदण्ड (Standard) त झन् गिगाबिट प्रति सेकेन्डको गति दिन सक्षम छन्, जहाँ एकै सेकेन्डमा अर्बौं सङ्केत आदानप्रदान हुन्छ ।
यसरी, वाइ-फाइले हरेक क्लिक, ट्याप र स्वाइपलाई हावामा अदृश्य तरंगहरूको माध्यमबाट संसारसँग जोडिरहेको हुन्छ । समुन्द्रको छालजस्तै यी विद्युत् चुम्बकीय तरंगहरू निरन्तर दौडिरहन्छन्, तर हाम्रो आँखाले देख्न नसके पनि यिनै तरंगले हाम्रो डिजिटल जीवनलाई अझै विशेष बनाएको छ ।
स्नेहा झा