कीवर्डहरू -

डिजिटल हुलाक अभियान : सिमकार्ड, स्वास्थ्य सामाग्री र राहदानी घरमै पुग्ने

डिजिटल हुलाक अभियान : सिमकार्ड, स्वास्थ्य सामाग्री र राहदानी घरमै पुग्ने

काठमाडौं । नागरिकलाई सरकारी कार्यालय धाउनुपर्ने झन्झट कम गर्ने उद्देश्यसहित सरकारले घरदैलोमै सेवा पुर्‍याउने अभियानलाई तीव्रता दिएको छ । हुलाक सेवा विभागले देशभरका ६२ जिल्लामा सरकारी कुरियर सेवाको पहुँच विस्तार गरेसँगै विभिन्न सार्वजनिक सेवाहरू अब नागरिकको घरमै उपलब्ध हुने भएका छन् ।

विभागका अनुसार स्वास्थ्य बिमा बोर्डसँगको सहकार्यमा जेठ १९ गतेदेखि स्वास्थ्यसम्बन्धी सामाग्री तथा औषधि वितरणको काम सुरु भइसकेको छ । यस व्यवस्थाले स्वास्थ्य सेवा प्राप्त गर्न दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई थप सहज हुने अपेक्षा गरिएको छ ।

यस्तै, दूरसञ्चार सेवामा नागरिकको पहुँच विस्तार गर्न नेपाल टेलिकमको सिमकार्ड घरमै पुर्‍याउने योजना पनि अन्तिम चरणमा पुगेको छ । यस सम्बन्धमा हुलाक सेवा विभाग र नेपाल टेलिकमका उच्च अधिकारीहरूबीच चौथो चरणको छलफल सम्पन्न भइसकेको विभागले जनाएको छ ।

राहदानी वितरण प्रक्रियालाई समेत सहज बनाउन विभागले राहदानी विभागसँग सहकार्य अघि बढाएको छ । ६२ जिल्लाका सेवाग्राहीलाई छिटो र व्यवस्थित रूपमा राहदानी उपलब्ध गराउने उद्देश्यले पूरक सम्झौताको मस्यौदा पठाइसकिएको जानकारी दिइएको छ ।

यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगको समन्वयमा हुलाक सेवाको आधुनिकीकरण गर्ने कार्य पनि अघि बढिरहेको छ । विश्व हुलाक संघको मापदण्डअनुसार अन्तर्राष्ट्रिय पार्सल सेवालाई थप प्रभावकारी र आधुनिक बनाउने काम दोस्रो चरणमा प्रवेश गरेको छ ।

सरकारले हुलाक सेवालाई क्रमशः डिजिटल तथा मागअनुसार सेवा उपलब्ध गराउने प्रणालीमा रूपान्तरण गर्दै लगेको जनाएको छ । यस पहलले सरकारी सेवा प्राप्त गर्न नागरिकले कार्यालय धाइरहनुपर्ने अवस्थाको अन्त्य गर्दै सेवा प्रवाहलाई थप सहज, छरितो र पहुँचयोग्य बनाउने विश्वास गरिएको छ ।