काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गरेका तथा आर्थिक रूपमा सहयोग आवश्यक भएका २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
दूतावासले आयोजना गरेको ‘पाकिस्तानका राजदूत छात्रवृत्ति वितरण समारोह’को १४ औँ वार्षिकउत्सवमा पाकिस्तानका राजदूत अबरार एच हाश्मीले विभिन्न विद्यालयका छनोट भएका विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरेका हन् ।
कार्यक्रममा विद्यार्थी छनोट गर्दा उनीहरूको शैक्षिक उपलब्धि र आर्थिक अवस्थालाई मुख्य आधार बनाइएको जनाइएको छ । विशेष अवसरका रूपमा पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाहको १५० औँ जन्मजयन्तीको स्मरण गर्दै उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो ।
यस वर्षको उत्कृष्ट छात्रवृत्ति प्राप्तकर्ताका रूपमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसकी छात्रा प्राप्ति लाम्साललाई ल्यापटप प्रदान गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै राजदूत हाश्मीले छात्रवृत्ति कार्यक्रम आर्थिक सहायता मात्र नभई नेपालका युवाको क्षमता विकास र भविष्य निर्माणमा गरिएको लगानी भएको बताए ।
उनले विद्यार्थीलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित (एसटीईएम), स्वास्थ्य, जैविक विज्ञान, नवप्रवर्तन, कूटनीति, वित्तीय ज्ञान र आलोचनात्मक सोचजस्ता क्षेत्रमा आफ्नो क्षमता विस्तार गर्न आग्रह गरे ।
राजदूत हाश्मीले पाकिस्तानले नेपालका विद्यार्थीका लागि विद्यालय तहदेखि उच्च शिक्षासम्म विभिन्न अवसर उपलब्ध गराउँदै आएको जानकारी दिए ।
उनका अनुसार पाकिस्तानमा अध्ययनका अवसर, नेपाली शैक्षिक संस्थालाई सूचना प्रविधि, खेलकुद, उदार कला तथा एसटीईएम शिक्षामा सहयोगजस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् ।
सन् २०१३ देखि सुरु भएको ‘पाकिस्तानका राजदूत छात्रवृत्ति कार्यक्रम’ नेपालमा सञ्चालन हुने विदेशी छात्रवृत्ति कार्यक्रममध्ये एक महत्वपूर्ण पहलका रूपमा स्थापित भएको दूतावासले जनाएको छ ।
आईसीटी समाचार