काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै अनलाइनमार्फत डाउनलोड गर्न सक्ने सेवा परीक्षणका रूपमा सुरु गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आजदेखि उक्त प्रणाली सञ्चालनमा ल्याएको हो ।
विभागका अनुसार अब नागरिकहरूले राष्ट्रिय परिचयपत्रसम्बन्धी आधिकारिक वेबसाइट https://citizenportal.donidcr.gov.np/ne मार्फत आफ्नो फोटो र अनलाइन भेरिफिकेसन तथा क्यूआर कोडसहितको डिजिटल परिचयपत्र कार्ड डाउनलोड गर्न सक्नेछन् ।
यो सेवा सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नं. २ मा उल्लेख गरिएको “विभागको प्रणालीबाट व्यक्तिको फोटो र क्यूआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न सक्ने व्यवस्था” कार्यान्वयनका रूपमा सुरु गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नागरिकहरूले आफ्नो नाम (नेपाली वा अंग्रेजी), जन्ममिति र नागरिकता जारी मिति प्रविष्ट गरी आफ्नो कार्ड डाउनलोड गर्न सक्नेछन् ।
यसअघि सार्वजनिक निकायहरूले राष्ट्रिय परिचयपत्र नम्बरको निस्सा (प्रिन्टेड फोटोसहित) का आधारमा सेवा प्रवाह गर्दै आएका थिए । तर अबदेखि उक्त निस्सामा रहेको क्यूआर कोड स्क्यान गरी विवरण प्रमाणीकरण गर्ने प्रणालीलाई प्राथमिकता दिइने विभागले जनाएको छ ।

आईसीटी समाचार