काठमाडौं । नापी कार्यालय गौशालाले बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिने नक्सासम्बन्धी सेवा पूर्ण रूपमा डिजिटल माध्यमबाट उपलब्ध गराउने व्यवस्था लागू गरेको छ । अब यस्ता संस्थाले नक्सा सेवा प्राप्त गर्न ‘मेरोकित्ता’ प्रणालीको अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ ।
नापी कार्यालय गौशालाले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित नक्सासम्बन्धी सेवा अब ‘मेरोकित्ता’ प्रणालीमार्फत मात्रै उपलब्ध गराउने जनाएको छ । कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार उक्त व्यवस्था असार ८ गतेदेखि लागू हुने भएको हो ।
नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले नक्सासम्बन्धी सेवा लिन सम्बन्धित संस्थागत प्रयोगकर्ता (इन्स्टिच्युसनल युजर) मार्फत मेरोकित्ता प्रणालीको प्रयोग गर्नुपर्नेछ । कार्यालयले प्रत्यक्ष उपस्थित भएर सेवा लिने पुरानो प्रक्रियालाई विस्थापित गर्दै अनलाइन प्रणालीलाई अनिवार्य बनाएको हो ।
नापी कार्यालयका अनुसार सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी, छरितो तथा प्रविधिमैत्री बनाउन यो व्यवस्था लागू गरिएको हो । यसबाट सेवा लिने संस्थाहरूको समय र लागत दुवै बचत हुने अपेक्षा गरिएको छ ।
कार्यालयले बैंक तथा वित्तीय संस्थालाई आवश्यक नक्सा तथा जग्गासम्बन्धी विवरण अनलाइन प्रणालीमार्फत सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ ।
नयाँ प्रणाली लागू भएसँगै सेवा प्राप्तिका लागि कार्यालय धाउनुपर्ने बाध्यता हट्ने र आवश्यक काम छिटो तथा प्रभावकारी रूपमा सम्पन्न हुने विश्वास गरिएको छ ।
नापी प्रशासनले सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थालाई समयमै संस्थागत प्रयोगकर्ता प्रणालीमार्फत आबद्ध भई मेरोकित्ता सेवाको प्रयोग गर्न आग्रह गरेको छ ।
आईसीटी समाचार