काठमाडौं । व्हाट्सएपले आफ्नो प्लेटफर्मलाई अझ सुरक्षित बनाउन निरन्तर नयाँ सुरक्षा तथा गोपनीयता (प्राइभेसी) सम्बन्धी फिचरहरू थपिरहेको छ । पछिल्ला केही महिनामा कम्पनीले प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै विभिन्न नयाँ सुविधा सार्वजनिक गरिसकेको छ । अब मेटाको स्वामित्वमा रहेको यो लोकप्रिय म्यासेजिङ एपले प्रयोगकर्तालाई अनलाइन ठगी (स्क्याम) बाट जोगाउन अर्को नयाँ फिचर परीक्षण गरिरहेको छ ।
फिचर ट्र्याकर WABetaInfo का अनुसार, अब कुनै अज्ञात नम्बरबाट आएको च्याट खोल्नुअघि व्हाट्सएपले प्रयोगकर्तालाई सुरक्षा सम्बन्धी चेतावनी सन्देश देखाउनेछ । अर्थात्, यदि तपाईंको सम्पर्क सूची (कन्ट्याक्ट लिस्ट) मा सुरक्षित नभएको नम्बरबाट सन्देश आएको छ भने, च्याट खुल्नुअघि आवश्यक जानकारीसहित चेतावनी स्क्रिन देखाइनेछ ।
रिपोर्टका अनुसार उक्त चेतावनी स्क्रिनमा सम्बन्धित फोन नम्बर कुन देशमा दर्ता गरिएको हो भन्ने जानकारी पनि हुनेछ । साथै, उक्त नम्बर तपाईंको सम्पर्क सूचीमा सुरक्षित छ वा छैन, र त्यस व्यक्तिसँग तपाईंको कुनै साझा (कमन) समूह छ वा छैन भन्ने विवरण पनि देखाइनेछ । यसले प्रयोगकर्तालाई सन्देश पठाउने व्यक्ति कत्तिको विश्वसनीय हुन सक्छ भन्ने बुझ्न सहज बनाउने कम्पनीको विश्वास छ ।
यसका साथै व्हाट्सएपले चेतावनी सन्देशमार्फत स्क्यामरहरूले व्यक्तिगत जानकारी, पासवर्ड वा पैसा मागेर ठगी गर्ने प्रयास गर्न सक्ने भन्दै सावधानी अपनाउन पनि आग्रह गर्नेछ । चेतावनी हेरेपछि प्रयोगकर्ताले आफ्नो इच्छाअनुसार च्याटलाई अगाडि बढाउने वा बन्द गर्ने निर्णय गर्न सक्नेछन् । विशेष कुरा के भने, प्रयोगकर्ताले च्याट बन्द गरे वा नखोलेको जानकारी भने सन्देश पठाउने व्यक्तिलाई प्राप्त हुने छैन ।
एन्ड्रोइड र आईफोन दुवैमा परीक्षण
यो फिचर हाल एन्ड्रोइड र आईफोन दुवै प्लेटफर्मका सीमित प्रयोगकर्तामाझ परीक्षण भइरहेको छ । परीक्षण सफल भए आगामी अपडेटमार्फत यसलाई सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइने अपेक्षा गरिएको छ ।
यसका अतिरिक्त, व्हाट्सएपले अन्य केही नयाँ फिचरहरूमा पनि काम गरिरहेको छ। रिपोर्टका अनुसार कम्पनीले होम स्क्रिनका लागि भ्वाइस नोट विजेट (Voice Note Widget) तथा आईफोन प्रयोगकर्ताका लागि 'भ्यु वन्स' टेक्स्ट मेसेज (View Once Text Message) जस्ता सुविधाको समेत परीक्षण गरिरहेको छ ।
आईसीटी समाचार