काठमाडौं । विश्वप्रसिद्ध सवारी साधन निर्माता टीभीएस मोटर कम्पनीले नेपालमा आफ्नो लोकप्रिय बाइक ‘अपाचे’को सबैभन्दा शक्तिशाली संस्करण ‘टीभीएस अपाचे आरटीआर १६० ४ भी’ (TVS Apache RTR 160 4V) सार्वजनिक गरेको छ । काठमाडौंको सतुंगलमा आयोजित एक विशेष कार्यक्रमका बीच यस मेशिनलाई नेपाली बजारमा उतारिएको हो ।
यस सेग्मेन्टमै पहिलो पटक प्रोजेक्टर हेडल्याम्प, ३७ एमएमको अपसाइड डाउन (USD) सस्पेन्सन र ५ इन्चको टीएफटी (TFT) क्लस्टरजस्ता अत्यधुनिक विशेषताहरू यस बाइकमा समावेश गरिएको छ । रात्रिकालीन दृश्यात्मकता र उत्कृष्ट नियन्त्रणका लागि यी सुविधाहरू प्रभावकारी हुने कम्पनीको दाबी छ ।
प्रमुख विशेषता
१५९.७ सीसी इन्जिन क्षमता भएको यस मोटरसाइकलले स्पोर्ट मोडमा १७.५५ पीएस (PS) पावर प्रदान गर्दछ। राइडरको सहजताका लागि यसमा स्पोर्ट, अर्बन र रेन गरी तीन वटा ‘राइड मोड’ हरू उपलब्ध छन् ।
सुरक्षाका लागि यसमा ड्युअल-च्यानल एबीएस (ABS) प्रविधि जडान गरिएको छ । ५ स्पीड गियरबक्स र १२ लिटरको इन्धन ट्याङ्की क्षमता भएको यो बाइक रेसिङ डीएनएमा आधारित रहेको कम्पनीले जनाएको छ ।
नेपाली बजारमा यसको एक्स-शोरूम मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो बाइक म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन आकर्षक रङहरूमा उपलब्ध हुनेछ ।
हाल केही छानिएका डिलरहरूमा उपलब्ध यो बाइक जुलाई २०२६ सम्ममा नेपालभरका नेटवर्कमा उपलब्ध हुने आधिकारिक वितरक जगदम्बा मोटर्सले जानकारी दिएको छ ।
लन्चका अवसरमा बोल्दै टीभीएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेस प्रेसिडेन्ट पेम्यान कारगरले नेपाल टीभीएसका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण बजार रहेको बताए । नयाँ अपग्रेडले राइडरहरूलाई अझ बढी आत्मविश्वास र नियन्त्रण प्रदान गर्ने उनको विश्वास छ ।
त्यस्तै, जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नेपाली युवा राइडरहरूको चाहनालाई ध्यानमा राख्दै विश्वस्तरीय नवीन प्रविधि भित्र्याउन कम्पनी प्रतिबद्ध रहेको बताए ।
टीभीएसका प्रिमियम बिजनेस हेड विमल सुम्ब्लीले पनि अपाचेले १६० सीसी सेग्मेन्टमा नयाँ बेन्चमार्क कायम गर्ने दाबी गरे । नेपालमा जगदम्बा मोटर्स टीभीएसको एकमात्र आधिकारिक वितरक हो ।
आईसीटी समाचार