काठमाडौं । के तपाईंको इयरपड (Earbud) वा वायरलेस इयरपड्स (Wireless Earbuds) को एउटा भागले काम गर्न छाडेको छ ? यो अधिकांश वायरलेस इयरपड्स प्रयोगकर्ताले भोग्ने सामान्य समस्या हो । धेरैजसोले एउटा इयरबड बन्द हुने बित्तिकै नयाँ किन्ने निर्णय गर्छन् । तर धेरै अवस्थामा समस्या ब्याट्री, ब्लुटुथ, सेटिङ्स वा सरसफाइसँग मात्र सम्बन्धित हुन्छ ।
त्यसैले नयाँ इयरपड किन्नुअघि यी पाँच सजिला उपाय अपनाएर हेर्नुहोस् । सम्भव छ, केही मिनेटमै तपाईंको समस्या समाधान होस् ।
१. सबैभन्दा पहिले ब्याट्री जाँच गर्नुहोस्
यदि एउटा इयरबड मात्र काम गरिरहेको छ भने, सबैभन्दा पहिले त्यसको ब्याट्री लेभल जाँच गर्नुहोस् । धेरैजसो अवस्थामा दुवै इयरबड एकैपटक चार्ज गरेपनि एउटाको ब्याट्री छिट्टै सकिन सक्छ ।
दुवै इयरबडलाई चार्जिङ केस भित्र राखेर केसलाई फोन नजिकै खोल्नुहोस् । यसले दुवैको ब्याट्री छुट्टाछुट्टै देखाउँछ । जसको ब्याट्री कम छ, त्यसलाई पूर्ण रूपमा चार्ज हुन दिनुहोस् ।
२. इयरपडलाई पुनः कनेक्ट गर्नुहोस्
कतिपय अवस्थामा कनेक्सन सही रूपमा स्थापित हुँदैन । यस्तो अवस्थामा दुवै इयरबडलाई केही सेकेन्डका लागि चार्जिङ केसमा राख्नुहोस् र त्यसपछि निकालेर फेरि कानमा लगाउनुहोस् ।
धेरैजसो अवस्थामा इयरपड आफैं पुनः कनेक्ट हुन्छ ।
३. ब्लुटुथ रिफ्रेस गर्नुहोस्
ब्लुटुथ कनेक्सनमा आएको समस्या पनि यसको कारण हुन सक्छ । आफ्नो स्मार्टफोनको ब्लुटुथ बन्द गर्नुहोस्, करिब १५ सेकेन्ड पर्खनुहोस् र फेरि ब्लुटुथ अन गरेर इयरपड्स लाई पुनः री-कनेक्ट गर्नुहोस् ।
यसले अस्थायी कनेक्सनसम्बन्धी समस्या हटाउन सक्छ ।
४. फोन वा डिभाइस रिस्टार्ट गर्नुहोस्
यदि माथिका उपायले काम गरेन भने, इयरपड्स जोडिएको फोन वा अन्य डिभाइसलाई रिस्टार्ट गर्नुहोस् । धेरैजसो अवस्थामा प्रणाली (सिस्टम) मा आएका सामान्य सफ्टवेयर बगहरू केवल रिस्टार्ट गर्दा नै समाधान हुन्छन् र इयरपड फेरि सामान्य रूपमा चल्न थाल्छ ।
५. इयरपड सफा गर्नुहोस्
स्पिकर ग्रिल, चार्जिङ पिनमा धुलो, कानको मैलो (इयरवाक्स) वा अन्य फोहोर जम्दा पनि एउटा इयरबडले काम गर्न छाड्न सक्छ । यस्तो अवस्थामा नरम र सुख्खा कपडा, कटन स्वाब वा नरम ब्रस प्रयोग गरेर इयरपड्स सफा गर्नुहोस् ।
सफा गर्दा धारिलो वस्तु वा धेरै पानी प्रयोग नगर्नुहोस् ।
यी उपायले पनि काम गरेन भने के गर्ने ?
यदि यी सबै उपाय अपनाउँदा पनि समस्या समाधान भएन भने, सबैभन्दा पहिले आफ्नो इयरपडको वारेन्टी जाँच गर्नुहोस् । यदि वारेन्टी बाँकी छ भने आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोस् ।
यदि वारेन्टी सकिएको छ भने नयाँ इयरपड किन्न सक्नुहुन्छ वा अनुभवी प्राविधिकबाट जाँच गराउन सक्नुहुन्छ । किनकि कतिपय अवस्थामा भित्री हार्डवेयर खराबीका कारण पनि एउटा इयरबडले काम गर्न छाड्न सक्छ ।
आईसीटी समाचार