काठमाडौं । वर्डप्रेस समुदायको सबैभन्दा ठूलो सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६’ आगामी सेप्टेम्बर १८ र १९ मा आयोजना हुने भएकाे छ । नेपालको सूचना प्रविधि र डिजिटल अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको उक्त सम्मेलन वर्डप्रेस काठमाडौंकाे आयाेजनामा गैरीधारास्थित एलिस रिसेप्सनमा हुन लागेकाे हाे ।
कार्यक्रममा अमेरिका युरोप बङ्गलादेश इन्डिया लगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय ५०० भन्दा बढी सहभागी र ३० भन्दा बढी विज्ञ वक्ताहरूको सहभागिता रहने उक्त कार्यक्रमले उपत्यकाको ऐतिहासिक सम्पदा र खुला स्रोत दर्शनको सहकार्यलाई जोड्ने लक्ष्य राखेको छ ।

विश्वको करिब ४३ प्रतिशत वेबसाइट सञ्चालन गर्ने वर्डप्रेसले नेपालका विकासकर्ता, डिजिटल उद्यमी र एजेन्सीहरूलाई विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न उत्कृष्ट आधार प्रदान गरिरहेको सन्दर्भमा यो सम्मेलनलाई निकै चासोका साथ हेरिएको छ ।
दुई दिनसम्म चल्ने यस कार्यक्रमको पहिलो दिन वर्डप्रेसलाई अझ सुरक्षित, उत्कृष्ट तथा सबल बनाउन कसरी योगदान गर्न सकिन्छ भन्नेबारे जानकारी तथा विशेष योगदान गर्ने दिन रहेको छ भने दोस्रो दिन मुख्य सम्मेलन हुनेछ ।
सम्मेलनमा कृत्रिम बौद्धिकता (एआई), साइबर सुरक्षा, उन्नत एसइओ र डिजिटल मार्केटिङ जस्ता समसामयिक र भविष्यमुखी प्राविधिक विषयहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

प्राविधिक नेतृत्व विकास र प्रविधिको विकेन्द्रीकरणलाई जोड दिँदै यसअघि बुटवल, पोखरा र भरतपुरमा समेत वर्डक्याम्प सफलतापूर्वक सम्पन्न भइसकेका छन् । यसले मोफसलमा पनि प्रविधिप्रतिको आकर्षण बढाउनुका साथै ‘टेक-टुरिजम’को सम्भावनालाई उजागर गरेको छ ।
नेपालमा वर्डप्रेस समुदायको जग बसाल्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका स्व. उज्ज्वल थापाको सम्मानमा स्थापित ‘उज्ज्वल थापा मेमोरियल छात्रवृत्ति’ले सीमान्तकृत र विपन्न विद्यार्थीहरूलाई प्रविधिको मूल प्रवाहमा ल्याउन विशेष योगदान दिइरहेको छ ।
वर्डप्रेसले युवाहरूलाई स्वतन्त्र पेशा (फ्रिलान्सिङ) मार्फत वैदेशिक मुद्रा आर्जन गर्न, स्वदेशमै रोजगारी सिर्जना गरी प्रतिभा पलायन रोक्न र साना व्यवसायहरूलाई डिजिटल रूपान्तरण गर्न क्रान्तिकारी भूमिका खेलेको छ ।
पारदर्शी डिजिटल टिकट प्रणाली र समावेशी नेतृत्वसहित आयोजना हुन लागेको यस सम्मेलनले नेपाललाई दक्षिण एसियाकै प्रमुख आईटी हबको रूपमा विकास गर्न थप मद्दत पुग्ने विश्वास लिइएको छ ।
आईसीटी समाचार