कीवर्डहरू -

युवा उद्यमशीलतालाई प्रोत्साहन : ६ स्टार्टअप व्यवसायी नगदसहित पुरस्कृत

युवा उद्यमशीलतालाई प्रोत्साहन : ६ स्टार्टअप व्यवसायी नगदसहित पुरस्कृत

काठमाडौं । नेपालमा सूचना प्रविधि र नवप्रवर्तनमा आधारित व्यवसाय विस्तार हुँदै गइरहेका बेला राष्ट्रिय युवा परिषद्ले उत्कृष्ट योगदान दिएका ६ जना युवा उद्यमी तथा स्टार्टअप व्यवसायीलाई सम्मानित गरेको छ । परिषद्ले उनीहरूलाई जनही दुई लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्दै नवीन सोच, प्रविधि र उद्यमशीलतालाई थप प्रोत्साहन गर्ने उद्देश्य व्यक्त गरेको हो ।

यस वर्षको उत्कृष्ट सूचना प्रविधि उद्यमी तथा स्टार्टअप पुरस्कार यार्सा टेक प्रालि पोखराकी सविता शर्मा, सात्भिका भान्साघर कैलालीकी महेश्वरीकुमारी सिंह, ई-कागजपत्र प्रालि ललितपुरका निकेश सिंह, सकल बायो इञ्जाइम नेपाल ललितपुरकी सरला महर्जन, भर्मिकाउ अर्गानिक्स कैलालीका आयुश अवस्थी तथा डियर सर ‘होम ट्युसन’ प्रालि काठमाडौंका रविकिरण श्रेष्ठलाई प्रदान गरिएको हो ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले नेपालमा युवा उद्यमशीलताको सम्भावना अत्यन्तै व्यापक रहेको उल्लेख गरे । उनले उत्पादन, नवप्रवर्तन र प्रविधिमा आधारित व्यवसाय विस्तार गरेर देशभित्रै रोजगारी सिर्जना गर्न सकिने बताए ।

उनले पछिल्लो राजनीतिक परिवर्तनपछि बनेको नयाँ सरकारसँग नागरिकको मुख्य अपेक्षा आर्थिक सुधार र रोजगारी भएको उल्लेख गर्दै उद्यमशीलता प्रवर्द्धनलाई सरकारी प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए ।

राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले युवाहरूका सिर्जनशील सोच, सीप र नवीन व्यवसायिक अवधारणालाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार सम्मानले युवा उद्यमीलाई थप उत्साहित बनाउने मात्र होइन, नयाँ पुस्तालाई पनि व्यवसायतर्फ आकर्षित गर्ने विश्वास परिषद्को छ ।

कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव हेमराज तामाङ, परिषद्का पूर्वउपाध्यक्ष सुरेन्द्र बस्नेत लगायतका वक्ताहरूले नेपालमा स्टार्टअप संस्कृति विस्तार गर्न राज्यले नीतिगत तथा वित्तीय सहयोग बढाउनु पर्नेमा जोड दिएका थिए ।

यसअघि परिषद्ले देशभरबाट प्राप्त आवेदनमध्ये उत्कृष्ट १५ वटा स्टार्टअप व्यवसाय छनोट गरेको थियो । ती छनोट भएका उद्यमहरूको शुक्रबार परिषद् परिसरमा विशेष प्रदर्शनीसमेत आयोजना गरिएको थियो, जहाँ प्रविधि, कृषि, शिक्षा, डिजिटल सेवा र वातावरणमैत्री व्यवसायका नवीन अवधारणाहरू प्रस्तुत गरिएका थिए ।

परिषद्का अनुसार यस्ता कार्यक्रमले नवप्रवर्तनमा आधारित उद्यमलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउनुका साथै युवा पुस्तालाई रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने दिशातर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।