काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले नतिजा प्रकाशन गरेको सदस्य सचिव जङ्गबहादुर अर्यालले जानकारी दिए ।
बोर्डका अनुसार पूरक परीक्षाका लागि आवेदन दिएका १ लाख ४६ हजार ५०७ परीक्षार्थीमध्ये १ लाख २९ हजार ११४ जना परीक्षामा सहभागी भएका थिए । तीमध्ये ८३ हजार ४२३ जना अर्थात् ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । पूरक परीक्षा असार १ देखि ७ गतेसम्म सञ्चालन भएको थियो ।
परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, एसएमएस, यूएसएसडी तथा आईभीआर सेवामार्फत नतिजा हेर्न सक्नेछन् । सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरी ग्रेडसिट डाउनलोड गर्ने व्यवस्था पनि गरिएको बोर्डले जनाएको छ ।
प्रकाशित नतिजा प्रति चित्त नबुझेका परीक्षार्थीले असार २५ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत पुनर्योग, उत्तरपुस्तिका अवलोकन तथा पुन: परीक्षणका लागि आवेदन दिन सक्नेछन् । यसैबीच, परीक्षाको मर्यादा उल्लंघन गरेको आरोपमा केन्द्राध्यक्षबाट सिफारिस भएका सात जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।
आईसीटी समाचार