काठमाडौं । गुगलले आफ्नो गोपनीयता नीतिमा परिवर्तन गर्दै प्रयोगकर्ताले सर्च सेवामार्फत अपलोड गर्ने केही सामाग्री कृत्रिम बौद्धिकता (एआई) मोडलको प्रशिक्षणका लागि प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ ।
यो व्यवस्थाअन्तर्गत प्रयोगकर्ताले Google Lens मा अपलोड गरेका फोटो, Voice Search मार्फत प्रयोग गरिएका अडियो र Google Translate मा अपलोड गरिएका फाइललगायतका सामाग्री एआई प्रणाली सुधार तथा प्रशिक्षणका लागि प्रयोग हुन सक्नेछन् ।
यद्यपि, प्रयोगकर्ताको Google Photos मा व्यक्तिगत रूपमा सुरक्षित राखिएका फोटो तथा भिडियो भने यस व्यवस्थाअन्तर्गत पर्दैनन् । अर्थात्, Google Photos मा रहेका निजी सामाग्रीलाई यस परिवर्तनले प्रत्यक्ष रूपमा असर गर्दैन ।
गुगलले यो सुविधा अधिकांश प्रयोगकर्ताका लागि पूर्वनिर्धारित (डिफल्ट) रूपमा लागू गरेको छ । तर, आफ्नो सामाग्री एआई प्रशिक्षणमा प्रयोग हुन नदिन चाहने प्रयोगकर्ताले सम्बन्धित सेटिङ परिवर्तन गर्न सक्छन् ।
यसका लागि Search Services History मा गएर Save media विकल्प बन्द गर्न सकिन्छ । त्यस्तै, Search Services Personalization मा गएर डेटा प्रयोगसम्बन्धी सेटिङ पनि निष्क्रिय (Disable) गर्न सकिन्छ ।
यी सेटिङ परिवर्तन गरेपछि सर्च सेवामार्फत अपलोड गरिएका फोटो, भिडियो, अडियो तथा अन्य सामाग्री एआई प्रशिक्षणका लागि प्रयोग हुने सम्भावना कम गर्न सकिन्छ ।
आईसीटी समाचार