काठमाडौं । प्रतीक रिसर्च एण्ड इनोभेसन्स प्रा.लि.ले बहिरा तथा कम सुन्ने (Deaf and Hard of Hearing) किशोर–किशोरी तथा युवाको मानसिक स्वास्थ्यसम्बन्धी नेपालकै पहिलो अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन सार्वजनिक कार्यक्रम काठमाडौंको चारखालस्थित लिपफ्रग कनेक्टमा सम्पन्न भएको थियो । कार्यक्रममा अनुसन्धानकर्ता, मानसिक स्वास्थ्य विज्ञ, विकास साझेदार, अपाङ्गता अधिकारका क्षेत्रमा कार्यरत संस्था तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
"काठमाडौं उपत्यकाका छनोट गरिएका विद्यालयका बहिरा तथा कम सुन्ने किशोर–किशोरी तथा युवामा अवसादका लक्षण तथा त्यससँग सम्बन्धित कारकहरूको अध्ययन" शीर्षकको यस अनुसन्धानले नेपालमा बहिरा तथा कम सुन्ने समुदायको मानसिक स्वास्थ्यसम्बन्धी अनुसन्धानमा रहेको अभावलाई सम्बोधन गर्ने प्रयास गरेको छ । अध्ययनका निष्कर्षले नीति निर्माण, थप अनुसन्धान र मानसिक स्वास्थ्य सेवा सुधारका लागि प्रमाणमा आधारित जानकारी उपलब्ध गराएको छ ।
अध्ययनमा काठमाडौं उपत्यकाको एक विद्यालयका १० देखि २५ वर्ष उमेर समूहका १५२ जना बहिरा तथा कम सुन्ने किशोर–किशोरी तथा युवा सहभागी थिए । अनुसन्धानले करिब १५ प्रतिशत सहभागीमा मध्यमदेखि मध्यम गम्भीर स्तरसम्मका अवसादका लक्षण देखिएको र ३३ प्रतिशत सहभागीमा हल्का अवसादका लक्षण रहेको देखाएको छ ।
अध्ययनअनुसार उमेर र जन्मक्रम अवसादसँग महत्वपूर्ण रूपमा सम्बन्धित देखिएका छन् । त्यसैगरी, अभिभावकको कम सहभागिता, सञ्चारमा हुने कठिनाइ र श्रवण सहायक उपकरण (हियरिङ एड) प्रयोग नगर्नुले अवसादको जोखिम बढाउन सक्ने संकेत अध्ययनले दिएको छ । श्रवण समस्या कति गम्भीर छ र कति समयदेखि छ भन्ने विषय पनि अवसादसँग केही हदसम्म सम्बन्धित देखिएको छ ।
अध्ययनले बहिरा तथा कम सुन्ने समुदायको मानसिक स्वास्थ्य सुधारका लागि नेपाली सांकेतिक भाषामा पहुँच विस्तार, किफायती श्रवण सहायक उपकरणको उपलब्धता, समावेशी शिक्षाको प्रवर्द्धन, प्रारम्भिक श्रवण परीक्षण तथा परिवार केन्द्रित सहयोग प्रणालीलाई अझ सुदृढ बनाउनुपर्ने सुझाव दिएको छ ।
अनुसन्धानकर्ताहरूले अध्ययन एक विद्यालयमा मात्र गरिएको र सहभागीले आफैं दिएको जानकारीमा आधारित भएकाले केही सीमितता रहेको बताएका छन् । तर, भविष्यमा यस विषयमा हुने बृहत् अनुसन्धानका लागि यो अध्ययन महत्वपूर्ण आधार बन्ने उनीहरूको विश्वास छ ।
कार्यक्रमको उद्घाटन प्रतीक रिसर्च एण्ड इनोभेसन्सकी अपरेसन म्यानेजर सुश्री सजु शिवभक्तिले गर्नुभएको थियो । उहाँले अनुसन्धानका मुख्य निष्कर्ष प्रस्तुत गर्दै प्रमाणमा आधारित संवाद, सहकार्य र समावेशी मानसिक स्वास्थ्यसम्बन्धी पहललाई अघि बढाउन यस्ता अनुसन्धान आवश्यक रहेको बताउनुभयो ।
संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत श्री जतिन भुसालले संस्थाको परिचय दिँदै अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता र अनुभवका आधारमा सहायक प्रविधि विकास गर्न अनुसन्धानलाई संस्थाले प्राथमिकता दिएको बताउनुभयो । समुदायको वास्तविक आवश्यकता बुझ्न र प्रभावकारी समाधान विकास गर्न प्रमाणमा आधारित अनुसन्धान अपरिहार्य रहेको उहाँको भनाइ थियो ।
अध्ययनका प्रमुख अनुसन्धानकर्ता सुश्री श्रिमा चुडाल र अनुसन्धान इन्टर्न सुश्री प्रिज्मा दाहालले अध्ययनको उद्देश्य, अनुसन्धान विधि, प्रमुख निष्कर्ष र सिफारिस प्रस्तुत गर्नुभयो । उहाँहरूले बहिरा तथा कम सुन्ने किशोर–किशोरी तथा युवाका लागि पहुँचयुक्त, समावेशी र गुणस्तरीय मानसिक स्वास्थ्य सेवाको आवश्यकता औँल्याउनुभयो ।
छलफलका क्रममा वरिष्ठ सांकेतिक भाषा विज्ञ सुश्री शिलु शर्माले श्रवण सहायक उपकरणको प्रयोग र अवसादबीच देखिएको सम्बन्धबारे थप अनुसन्धान आवश्यक रहेको बताउनुभयो । त्यसैगरी, आरएक्सपिन स्पेक्ट्रमका सह-संस्थापक श्री धुर्व अधिकारीले ठूलो नमूना र गुणात्मक अध्ययनमार्फत यस विषयमा थप प्रमाण संकलन गर्न सुझाव दिनुभयो ।
कार्यक्रमको समापन गर्दै लिपफ्रग टेक्नोलोजीका डाइरेक्टर अफ इन्नोभेसन श्री अंकुर शर्माले नेपालमा समावेशी नवप्रवर्तनलाई अघि बढाउन यस्ता अनुसन्धान महत्वपूर्ण रहेको बताउनुभयो । स्थानीय स्तरमा गरिएका प्रमाणमा आधारित अध्ययनले नीति निर्माण, सेवा विस्तार र समुदायको समग्र हितमा योगदान पुग्ने उहाँको विश्वास थियो ।
प्रतीक रिसर्च एण्ड इनोभेसन्स प्रा.लि.ले यस अध्ययनलाई नेपालमा बहिरा तथा कम सुन्ने समुदायको मानसिक स्वास्थ्यसम्बन्धी अनुसन्धानको महत्वपूर्ण सुरुआतका रूपमा लिएको जनाएको छ । संस्थाले भविष्यमा यस क्षेत्रमा थप बृहत् अनुसन्धान, संस्थागत सहकार्य तथा प्रमाणमा आधारित नीति र कार्यक्रम विकासका लागि सबै सरोकारवालासँग सहकार्य गर्न आह्वान गरेको छ।
प्रतीक रिसर्च एण्ड इनोभेसन्स प्रा.लि.का बारेमा
प्रतीक रिसर्च एण्ड इनोभेसन्स प्रा.लि. नेपालस्थित अनुसन्धान तथा सहायक प्रविधि विकास गर्ने संस्था हो । संस्थाले कृत्रिम बुद्धिमत्ता (AI), पहुँचयुक्त प्रविधि, अनुसन्धान र नवप्रवर्तन मार्फत अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ काम गर्दै आएको छ । अनुसन्धानकर्ता, इन्जिनियर, स्वास्थ्य विज्ञ तथा अपाङ्गता अधिकारका क्षेत्रमा कार्यरत विशेषज्ञहरूको बहुविषयगत टोलीमार्फत संस्थाले प्रमाणमा आधारित, समावेशी र व्यवहारिक समाधान विकासमा जोड दिँदै आएको छ ।
आईसीटी समाचार