कीवर्डहरू -

फरेन्सिक प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्छ : मन्त्री पुन

फरेन्सिक प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्छ : मन्त्री पुन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले फरेन्सिक परीक्षणसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न नहुने व्यवस्था विधि विज्ञान प्रयोगशाला विधेयकमा समावेश गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलका क्रममा मन्त्री पुनले व्यक्तिको गोपनीयताको संरक्षणलाई प्राथमिकता दिँदै फरेन्सिक परीक्षण तथा प्रयोगशालाको प्रतिवेदन सार्वजनिक डोमेनमा राख्ने प्रस्तावित व्यवस्था उपयुक्त नभएको बताए ।

उनका अनुसार फरेन्सिक प्रतिवेदन संवेदनशील प्रकृतिको हुने भएकाले त्यसलाई खुला रूपमा सार्वजनिक गर्दा व्यक्तिगत गोपनीयता प्रभावित हुन सक्ने अवस्था रहन्छ । त्यसैले विधेयकमा त्यस्तो व्यवस्था नराख्नुपर्ने उनको धारणा थियो ।

मन्त्री पुनले प्रस्तुत विधेयकको मुख्य उद्देश्य फरेन्सिक परीक्षणलाई गुणस्तरीय, विश्वसनीय र वैज्ञानिक मापदण्डअनुसार सञ्चालन गर्ने कानुनी आधार तयार गर्नु रहेको स्पष्ट पारे ।

उनले आपराधिक घटनाको अनुसन्धानका क्रममा घटनास्थलबाट संकलन गरिएका नमुनाको वैज्ञानिक परीक्षणमार्फत सम्बन्धित निकायलाई प्रमाण उपलब्ध गराउन विधेयकले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

विधेयकलाई अनावश्यक रूपमा लामो समय नराखी दफावार छलफलमार्फत टुंगो लगाएर यथाशीघ्र पारित गर्न उनले संसदीय समितिलाई आग्रह गरे ।