कीवर्डहरू -

इनड्राइभ नेपालले ल्यायो ‘आफ्नै रोजाइको भाडा, यहाँ मात्र’ क्याम्पेन

इनड्राइभ नेपालले ल्यायो ‘आफ्नै रोजाइको भाडा, यहाँ मात्र’ क्याम्पेन

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा ‘आफ्नै रोजाइको भाडा, यहाँ मात्र’ भन्ने मूल सन्देशसहित नयाँ ‘प्यासेन्जर ३६००’ क्याम्पेन सुरु गरेको छ । सन् २०२६ को जुनदेखि सुरु भएको यो क्याम्पेन आगामी सेप्टेम्बरसम्म काठमाडौं केन्द्रित रहने कम्पनीले जनाएको छ ।

पारदर्शी भाडादर, यात्रुको छनोटको अधिकार र सहज शहरी आवागमनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो क्याम्पेन सञ्चालन गरिएको हो, जसले यात्रुलाई आफ्नो यात्राको निर्णयमा थप नियन्त्रण प्रदान गर्नेछ । काठमाडौंजस्तो व्यस्त सहरमा ट्राफिक जाम र सार्वजनिक यातायातको अनिश्चितताका बीच यात्रुहरूले पारदर्शिता र सहजता खोजिरहेका छन् ।

यही आवश्यकतालाई सम्बोधन गर्दै इनड्राइभले यात्रु र चालक दुवैको सहमतिमा भाडा तय हुने मोडल सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत यात्रुले आफैँ भाडा प्रस्ताव गर्न, उपलब्ध चालकका विकल्पहरू हेर्न र आफ्नो आवश्यकताअनुसार चालक छनोट गर्न सक्छन् ।

यसले यात्रा स्वीकार गर्नुअघि नै भाडादर र चालकसम्बन्धी जानकारीका आधारमा सूचित निर्णय लिन सहयोग पुर्‍याउनेछ । चार महिनासम्म चल्ने यस क्याम्पेनअन्तर्गत डिजिटल भिडियो, सामाजिक सञ्जाल सामग्री, आउट-अफ-होम विज्ञापन, इन्फ्लुएन्सर सहकार्य, इन-एप अनुभव तथा काठमाडौंका विभिन्न स्थानमा प्रत्यक्ष प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।

क्याम्पेनले बिहान सबेरै काममा निस्कने यात्रुदेखि राति अबेरसम्म आवतजावत गर्ने व्यक्ति, विद्यार्थी, युवा पेसाकर्मी र महिलाहरूको वास्तविक यात्रा अनुभवलाई समेट्दै उनीहरूलाई आफ्नो समय, सुविधा र बजेटअनुसार यात्रा छनोट गर्ने सन्देश प्रवाह गर्नेछ ।

इनड्राइभको सेवा अवधारणा अनुसार यात्रुले एपमार्फत आफूले तिर्न चाहेको भाडा प्रस्ताव गर्न सक्छन् भने चालकले उक्त प्रस्ताव स्वीकार वा अस्वीकार गर्न, अथवा अर्को भाडा प्रस्ताव (काउन्टर अफर) गर्न सक्छन् । अन्तत: दुवै पक्षको आपसी सहमतिपछि मात्र यात्रा अगाडि बढ्नेछ ।

इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रिता पोखरेलका अनुसार काठमाडौंका मानिसहरूले दैनिक आवागमनमा पारदर्शिता र लचकतालाई विशेष महत्व दिने भएकाले यात्रुहरूको सोही आवश्यकता र आत्मविश्वासलाई बलियो बनाउन यो क्याम्पेन ल्याइएको हो ।

यस क्याम्पेनले पारदर्शी भाडादर र यात्रुको छनोटको अधिकार सुनिश्चित गर्दै इनड्राइभको पहिचानलाई अझ मजबुत बनाउने कम्पनीको विश्वास छ ।