काठमाडौं । पछिल्ला केही दिनदेखि देशभरका धेरै क्षेत्रमा लगातार वर्षा भइरहेको छ । यस्तो मौसममा स्मार्टफोन भिज्ने जोखिम पनि निकै बढ्छ । त्यसैले नयाँ फोन खरिद गर्दा धेरैले आईपी रेटिङमा ध्यान दिन्छन् । तर के केवल आईपी६८ वा आईपी६९ लेखिएको भरमा फोनलाई निर्धक्क भएर वर्षामा प्रयोग गर्न मिल्छ ? आउनुहोस्, यसबारे विस्तारमा बुझौँ । त्यसअघि आईपी रेटिङ वास्तवमा के हो भन्ने जानौँ ।
आईपी रेटिङ के हो ?
आईपी रेटिङ (इन्ग्रेस प्रोटेक्सन) ले कुनै डिभाइस धुलो र पानीबाट कत्तिको सुरक्षित छ भन्ने देखाउँछ । यसमा रहेको पहिलो अंकले धुलोबाट हुने सुरक्षा जनाउँछ भने दोस्रो अंकले पानीबाट हुने सुरक्षा जनाउँछ । अहिले धेरै प्रिमियम तथा केही मिड–रेन्ज स्मार्टफोनमा आईपी६७, आईपी६८ र आईपी६९ जस्ता रेटिङ देख्न सकिन्छ ।
यदि तपाईंको डिभाइसमा आईपी६७ रेटिङ छ भने, त्यो सफा पानीमा करिब १ मिटर गहिराइसम्म केही समय सुरक्षित रहन सक्छ । त्यस्तै आईपी६८ रेटिङ भएका फोनहरूलाई सामान्यतया करिब १.५ मिटर वा सोभन्दा बढी गहिराइमा करिब ३० मिनेटसम्म पानीबाट सुरक्षित रहने गरी डिजाइन गरिएको हुन्छ ।
अहिले त केही स्मार्टफोनमा आईपी६९ रेटिङ पनि उपलब्ध हुन थालेको छ, जसलाई सबैभन्दा उन्नत रेटिङ मानिन्छ । यस्तो रेटिङ भएका फोनले उच्च दबाब (हाइ–प्रेसर) र उच्च तापक्रम (हाइ–टेम्प्रेचर) भएको पानीको फोहोरा पनि सहन सक्छन् । तर यसको अर्थ फोनलाई दैनिक रूपमा पानीमा डुबाएर प्रयोग गर्न सकिन्छ भन्ने होइन ।
वर्षामा प्रयोग गर्न कति आईपी रेटिङ भएको फोन सुरक्षित हुन्छ ?
सामान्यतया आईपी६७ वा सोभन्दा माथि अर्थात् आईपी६८ र आईपी६९ रेटिङ भएका फोनहरू हल्कादेखि मध्यम वर्षासम्म सुरक्षित मानिन्छन् । तर अत्यधिक वर्षा वा लामो समयसम्म पानीको सम्पर्कमा राख्नु उपयुक्त हुँदैन, किनकि कुनै पनि स्मार्टफोन पूर्ण रूपमा वाटरप्रुफ हुँदैन ।
वर्षामा फोन प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी
-
धेरै पानी परिरहेको बेला लामो समयसम्म खुला ठाउँमा फोन प्रयोग नगर्नुहोस् ।
-
फोन भिजेमा तुरुन्तै नरम र सुख्खा कपडाले राम्रोसँग पुछ्नुहोस् ।
-
चार्जिङ पोर्टमा चिस्यान वा पानी भएमा फोन चार्ज नगर्नुहोस् ।
आईसीटी समाचार