काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्तिम दिनहरूलाई लक्षित गर्दै असार २७ र २८ गते पर्ने सार्वजनिक बिदाका दिन पनि रियल टाइम ग्रस सेटलमेन्ट (RTGS) प्रणाली सञ्चालन गर्ने भएको छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बिहीबार सूचना जारी गर्दै सार्वजनिक बिदा परेका शनिबार र आइतबार पनि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म RTGS सेवा नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको हो ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको अन्त्यतिर हुने ठूलो परिमाणका वित्तीय कारोबारलाई सहज, छिटो र व्यवस्थित बनाउन यो व्यवस्था गरिएको हो । यसबाट बैंक तथा वित्तीय संस्थाहरूबीच हुने उच्च मूल्यका भुक्तानी तथा सेटलमेन्टमा सहजता आउने अपेक्षा गरिएको छ ।
सामान्यतया सार्वजनिक बिदाका दिन सञ्चालन नहुने RTGS सेवा यस पटक भने आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले निरन्तर सञ्चालन गरिने राष्ट्र बैंकले जनाएको छ ।
आईसीटी समाचार