काठमाडौं । नेपालस्थित संयुक्त राष्ट्रसंघ (यूएन) का तर्फबाट पिपुल टु पिपुल प्रालिले सामाजिक रूपमा पछाडि पारिएका समुदाय, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिका लागि ११ महिने ‘यूएन ट्रेनीसिप कार्यक्रम समूह ११’ मा आवेदन खुलाएको छ । कार्यक्रममार्फत सहभागीलाई संयुक्त राष्ट्रसंघीय निकायमा काम गर्दै व्यवहारिक अनुभव हासिल गर्ने अवसर प्रदान गरिनेछ ।
यस ट्रेनीसिपमा छनोट हुने प्रशिक्षार्थीले पूर्णकालीन रूपमा विभिन्न यूएन एजेन्सीसँग आबद्ध भएर काम गर्ने, अनुभवी विज्ञबाट मार्गदर्शन प्राप्त गर्ने तथा अन्तर्राष्ट्रिय कार्य वातावरणमा आफ्नो व्यवसायिक क्षमता विकास गर्ने अवसर पाउनेछन् । यो कार्यक्रम स्थायी रोजगारीका लागि नभई कार्यस्थलमा आधारित सिकाइ र सीप विकासका लागि सञ्चालन गरिएको हो ।
प्रशिक्षार्थीले स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH), सञ्चार, सामाजिक नीति तथा सुशासन, सामाजिक तथा व्यवहार परिवर्तन, प्रशासन, कार्यक्रम सञ्चालन, आपूर्ति तथा ढुवानी व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, आपत्कालीन व्यवस्थापन, अनुगमन तथा मूल्याङ्कन (M&E) र MEAL लगायतका क्षेत्रमा अनुभव बटुल्न सक्नेछन् ।
कार्यक्रममा आवेदन दिन कम्तीमा स्नातक तह उत्तीर्ण नेपाली नागरिक हुनुपर्नेछ । दलित, मधेसी, मुस्लिम, पछाडि पारिएका जनजाति समुदाय, लैङ्गिक तथा यौनिक अल्पसंख्यक (LGBTQIA++) तथा अपाङ्गता भएका व्यक्तिलाई आवेदनका लागि योग्य मानिएको छ । साथै नेपाली र अंग्रेजी भाषामा सामान्य लेखन तथा बोल्ने क्षमता, सिक्ने इच्छा, विविधताको सम्मान गर्ने सोच र पूरा ११ महिने कार्यक्रममा सहभागी रहने प्रतिबद्धता पनि आवश्यक पर्नेछ ।
छनोट भएका प्रशिक्षार्थीलाई काठमाडौं, जनकपुर, पोखरा, धनगढी, दिपायल, नेपालगञ्ज, भैरहवा, सुर्खेत र भद्रपुरमध्ये आवश्यकताअनुसार विभिन्न कार्यस्थलमा खटाइनेछ । आवेदन दिँदा उम्मेदवारले आफ्नो प्राथमिकतामा रहेको कार्यस्थल उत्प्रेरणापत्रमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।
अनलाइन आवेदनका क्रममा हालसालैको फोटो, नेपाली नागरिकताको प्रतिलिपि, अद्यावधिक बायोडाटा, एसईई वा एसएलसीदेखि उच्च तहसम्मका शैक्षिक प्रमाणपत्र तथा बढीमा २०० शब्दको उत्प्रेरणापत्र अपलोड गर्नुपर्नेछ । उत्प्रेरणापत्रमा कार्यक्रममा सहभागी हुन चाहनुको कारण, रुचिको कार्यक्षेत्र, सिक्न चाहेको ज्ञान तथा सीप र प्राथमिकतामा रहेको कार्यस्थल खुलाउनुपर्नेछ ।
योग्य उम्मेदवारले पिपुल टु पिपुलको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति २०८३ साउन ८ गते (२४ जुलाई २०२६) दिउँसो १ बजेसम्म तोकिएको छ । निर्धारित समयपछि प्राप्त आवेदन स्वीकार गरिने छैन ।
कार्यक्रममा छनोट भएका प्रशिक्षार्थीलाई प्रचलित श्रम कानुनअनुसार निर्वाह खर्चका लागि स्टाइपेन्ड, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा अन्य लागू हुने सुविधा प्रदान गरिनेछ । प्रशिक्षार्थीको करार पिपुल टु पिपुल प्रालिसँग हुनेछ भने उनीहरूलाई नेपालका विभिन्न स्थानमा रहेका सहभागी यूएन निकायमा कार्यरत गराइनेछ ।
प्रारम्भिक छनोटमा परेका उम्मेदवारलाई मात्र अन्तर्वार्ता वा अन्य मूल्याङ्कन प्रक्रियाबारे जानकारी दिइनेछ । आवेदन वा छनोट प्रक्रियामा कुनै पनि प्रकारको प्रभाव पार्ने प्रयास गरे उम्मेदवारी स्वत: रद्द हुन सक्ने सूचनामा उल्लेख छ ।
यूएन र पिपुल टु पिपुलले आवेदन वा छनोट प्रक्रियाको कुनै पनि चरणमा कुनै शुल्क नलिने स्पष्ट गर्दै ट्रेनीसिपका नाममा कसैलाई रकम नतिर्न पनि आग्रह गरेका छन् । साथै, यो कार्यक्रम पूरा गरेपछि संयुक्त राष्ट्रसंघमा स्थायी वा पूर्णकालीन रोजगारी स्वत: सुनिश्चित नहुने पनि जनाइएको छ ।
आईसीटी समाचार