काठमाडौं । एशियन पेन्ट्स नेपालले ‘Kaleidoscope – अखिल नेपाल वास्तुकला तथा आन्तरिक डिजाइन प्रतियोगिता २०८२–८३’ को १३ औँ संस्करणको पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ । असार २६ गते काठमाडौंको एलोफ्ट बाई मेरियट, ठमेलमा आयोजित कार्यक्रममा युवा वास्तुकला तथा आन्तरिक डिजाइन प्रतिभाको सिर्जनशीलता, नवप्रवर्तन र व्यावसायिक क्षमताको सम्मान गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इन्जिनियर गोपाल प्रसाद सिग्देल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभाग (DUDBC), सोसाइटी अफ नेपाली आर्किटेक्ट्स (SONA), नेपाल इञ्जिनियर्स एसोसिएसन (NEA), इन्टेरियर डिजाइनर्स एसोसिएसन नेपाल (IDEA Nepal), फेडेरेशन अफ कन्ट्र्याक्टर्स एसोसिएसन अफ नेपाल (FCAN), सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियरिङ फर्म्स (SCAEF), विभिन्न शैक्षिक संस्थाका प्राध्यापक, आर्किटेक्ट, इन्टेरियर डिजाइनर तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कम्पनीका अनुसार प्रतियोगिताले भावी वास्तुकार तथा आन्तरिक डिजाइनरलाई वास्तविक परियोजनामार्फत व्यवहारिक अनुभव दिलाउने राष्ट्रिय मञ्चका रूपमा स्थापित हुँदै आएको छ । यसले विद्यार्थीलाई उद्योगसँग जोड्दै सिर्जनात्मक सोच, व्यावसायिक दक्षता र व्यवहारिक ज्ञान अभिवृद्धिमा योगदान पुर्याइरहेको जनाएको छ ।
यस वर्ष नेपालभरका प्राविधिक शिक्षण संस्थाका विद्यार्थी सहभागी भएका थिए । बहुचरणीय मूल्याङ्कनपछि आईओई थापाथली क्याम्पसका पुरुषोत्तम घिमिरे विजेता घोषित भए । आईओई पूर्वाञ्चल क्याम्पसका सुमन बि.के. प्रथम उपविजेता तथा हिमालय कलेज अफ इन्जिनियरिङकी अदिती रिजाल द्वितीय उपविजेता बने ।
प्रतियोगिताका शीर्ष १२ प्रतिस्पर्धीलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने शीर्ष तीन विजेतालाई ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा विजेता डिजाइनको थ्रीडी मोडेल सार्वजनिक गर्नुका साथै उक्त अवधारणात्मक डिजाइन शहरी विकास तथा भवन निर्माण विभागलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो ।
एशियन पेन्ट्स नेपालले शिक्षा र उद्योगबीचको सहकार्यलाई अझ सुदृढ गर्दै युवा प्रतिभालाई सिर्जनात्मक अवसर उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ ।
आईसीटी समाचार