काठमाडौं । नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंको ठुलोभर्याङस्थित संस्कृति इन्टरनेशनल स्कुल र छाउनीस्थित स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालयबीच बहुउपयोगी शैक्षिक सहकार्य भएको छ । यस सहकार्य अन्तर्गत पञ्चकन्या माविका विद्यार्थीहरूलाई संस्कृति इन्टरनेशनल स्कुलको अत्याधुनिक ‘फ्याब ल्याब’ (FAB Lab) मा पूर्ण रूपमा नि:शुल्क विशेष प्रविधिमूलक कक्षा सञ्चालन गरिने भएको छ ।
यस सिर्जनात्मक शैक्षिक कार्यक्रमको औपचारिक शुभारम्भ आइतबार (असार २८, २०८३ / जुलाई १२, २०२६) मा पहिलो अन्तरक्रियात्मक कक्षामार्फत गरिएको हो । पहिलो दिनको कक्षामा विद्यार्थीहरूलाई प्रयोगशालामा अपनाउनुपर्ने सुरक्षा मापदण्डबारे जानकारी दिइएको थियो । त्यसलगत्तै विद्यार्थीहरूले डिजिटल फेब्रिकेसनका आधुनिक उपकरणहरू प्रयोग गर्दै सिर्जनात्मक डिजाइनसम्बन्धी व्यवहारिक (प्राक्टिकल) अभ्यास गरेका थिए ।
शैक्षिक वर्ष २०८३ भर निरन्तर सञ्चालन हुने यस विशेष कार्यक्रममा विद्यार्थीहरूलाई थ्रीडी (3D) प्रिन्टिङ, कोडिङ, कृत्रिम बौद्धिकता (AI), रोबोटिक्स, फोटोग्राफी तथा भिजुअल इफेक्ट्स (VFX) लगायतका ‘स्टिम’ (STEAM – विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित) विषयहरूमा व्यवहारिक सिकाइ प्रदान गरिनेछ । यसका साथै, विद्यार्थीहरूलाई समुदायका लागि उपयोगी हुने विभिन्न नवीन परियोजनाहरू (Project Work) विकास गर्न समेत प्रोत्साहन गरिनेछ ।
संस्कृति इन्टरनेशनल स्कुलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत यो कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रमका लागि लाग्ने सम्पूर्ण खर्च, आवश्यक शैक्षिक सामग्री, अत्याधुनिक फ्याब ल्याबको प्रयोग तथा विशेषज्ञ प्रशिक्षकहरूको व्यवस्था संस्कृति स्कुलले नै बेहोर्ने भएकाले यो कक्षा विद्यार्थीका लागि पूर्णतः नि:शुल्क रहनेछ । चालू शैक्षिक वर्षभरि प्रत्येक दोस्रो आइतबार दुई घण्टाका दरले यी कक्षाहरू सञ्चालन हुनेछन् ।
यो गैर-व्यवसायिक सहकार्यले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई आधुनिक प्रविधिमूलक शिक्षामा सहज पहुँच दिलाउने, निजी र सामुदायिक विद्यालयबीचको डिजिटल विभाजन कम गर्ने तथा नयाँ पुस्तामा २१ औँ शताब्दीका आवश्यक सीप, सिर्जनात्मक सोच र नवप्रवर्तन (Innovation) को विकास गर्ने दुवै विद्यालयले विश्वास व्यक्त गरेका छन् ।
आईसीटी समाचार