काठमाडौं । ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घनबाट संकलन हुने जरिवानाको २५ प्रतिशत रकम विशेष भत्ताका रूपमा प्राप्त गर्ने भन्ने दाबीलाई नेपाल प्रहरीले पूर्ण रूपमा असत्य र भ्रामक भएको जनाएको छ ।
मंगलबार जारी गरिएको विज्ञप्तिमार्फत नेपाल प्रहरी प्रधान कार्यालयले पछिल्ला दिनमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ट्राफिक प्रहरीलाई जरिवानाको निश्चित प्रतिशत रकम उपलब्ध गराइने भन्ने आशयका सामाग्री सार्वजनिक भएको प्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेको हो ।
प्रहरीका अनुसार ट्राफिक कारबाहीबाट संकलित सम्पूर्ण जरिवाना रकम प्रचलित कानुनबमोजिम नेपाल सरकारको राजस्व खातामा जम्मा हुने व्यवस्था रहेको छ । उक्त रकमबाट ट्राफिक प्रहरी कर्मचारीलाई कुनै प्रकारको प्रतिशत, कमिसन, विशेष भत्ता वा अतिरिक्त आर्थिक सुविधा उपलब्ध गराउने कानुनी प्रावधान नरहेको स्पष्ट पारिएको छ ।
नेपाल प्रहरीले आधारहीन र अपुष्ट सूचनाको प्रचार प्रसारले नागरिकमा भ्रम फैलिन सक्ने, सार्वजनिक निकायप्रतिको विश्वास कमजोर बन्ने तथा प्रशासनिक कार्यप्रणालीबारे अनावश्यक विवाद उत्पन्न हुने जनाएको छ ।
यसैगरी, तथ्य पुष्टि नगरी समाचार वा टिप्पणी सार्वजनिक नगर्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सबै सरोकारवालालाई आग्रह गरिएको छ । सूचना प्रकाशन वा प्रसारणअघि सम्बन्धित निकायबाट आधिकारिक जानकारी लिएर मात्र जिम्मेवारीपूर्वक सामाग्री सम्प्रेषण गर्नुपर्नेमा प्रहरीले जोड दिएको छ ।

आईसीटी समाचार