कीवर्डहरू -

हरायो वा बिग्रियो नेपाल टेलिकमको सिम ? अब अनलाइनबाटै रिप्लेस गर्न सकिने

हरायो वा बिग्रियो नेपाल टेलिकमको सिम ? अब अनलाइनबाटै रिप्लेस गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रिएको सिमकार्ड पुन: प्राप्त गर्ने प्रक्रियालाई थप सहज बनाएको छ । शुक्रबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले अब अनलाइनबाट आवेदन दिएर नयाँ फिजिकल सिम वा ई-सिम लिन सक्नेछन् ।

टेलिकमका अनुसार सेवाग्राहीले esim.ntc.net.np पोर्टलमा लगइन गरी 'Apply for Lost/Damaged SIM' विकल्पबाट आवश्यक विवरण भरेर आवेदन दिन सक्नेछन् । आवेदन दर्ता भएपछि ग्राहक स्वयं वा आफूले तोकेको प्रतिनिधिमार्फत सम्बन्धित सेवा केन्द्रबाट नयाँ सिम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

नयाँ सिम लिनका लागि ५० रुपैयाँ शुल्क लाग्नेछ, जुन सेवा केन्द्रमै बुझाउनुपर्नेछ । यदि ग्राहक आफैं उपस्थित हुन नसकेमा आवेदन फाराममै प्रतिनिधिको नाम उल्लेख गर्नुपर्नेछ भने सिम लिन आउने प्रतिनिधिले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात पनि अनिवार्य रूपमा पेश गर्नुपर्ने टेलिकमले जनाएको छ । यो व्यवस्था ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राखेर गरिएको हो ।

टेलिकमले यही पोर्टलमार्फत नयाँ प्रिपेड ई-सिम लिन, फिजिकल सिमलाई ई-सिममा परिवर्तन गर्न, नयाँ फिजिकल सिम प्राप्त गर्न तथा ग्राहकको केवाईसी (KYC) विवरण अद्यावधिक गर्ने सुविधा पनि उपलब्ध गराएको छ । नयाँ सेवाले सिमसम्बन्धी अधिकांश काम अनलाइनमार्फतै गर्न सकिने भएकाले सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरिएको छ ।