कीवर्डहरू -

आलोचना सहे, सपना छोडेनन्, अन्तत: लियांग बने विश्वकै धनी एआई उद्यमी

आलोचना सहे, सपना छोडेनन्, अन्तत: लियांग बने विश्वकै धनी एआई उद्यमी

काठमाडौं । चिनियाँ कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी डीपसीक (DeepSeek) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लियाङ वेनफेङ विश्वकै सबैभन्दा धनी एआई स्टार्टअप संस्थापक बनेका छन् । हालै सम्पन्न लगानी संकलनपछि उनको अनुमानित सम्पत्ति ३६ अर्ब अमेरिकी डलर पुगेको ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सले जनाएको छ ।

डीपसीकमा करिब ७८ प्रतिशत स्वामित्व रहेका ४१ वर्षीय लियाङको सम्पत्ति पछिल्लो लगानी चरणपछि झन्डै दोब्बर बढेको हो । उक्त लगानीबाट मात्रै उनको सम्पत्तिमा करिब १९ अर्ब अमेरिकी डलर थपिएको बताइएको छ ।

यससँगै लियाङले ओपनएआईका अध्यक्ष ग्रेग ब्रकम्यान र एन्थ्रोपिकका सह–संस्थापक डारियो अमोडेईलाई सम्पत्तिको हिसाबले पछि पारेका छन् । ब्लुमबर्गका अनुसार ब्रकम्यानको अनुमानित सम्पत्ति २५.५ अर्ब डलर र अमोडेईको ७.९८ अर्ब डलर छ । यता, च्याटजीपीटीका सह–संस्थापक तथा ओपनएआईका सीईओ स्याम अल्टम्यान भने ब्लुमबर्गको विश्वका ५०० धनी व्यक्तिको सूचीमा समावेश छैनन् ।

बाल्यकालदेखि नै प्रविधिप्रति रुचि
लियाङ बाल्यकालदेखि नै कम्प्युटर र विद्युतीय उपकरणप्रति निकै जिज्ञासु थिए । उपकरण कसरी काम गर्छ भन्ने बुझ्न उनी त्यसका पाटपुर्जा खोल्ने गर्थे । यही बानीका कारण परिवार र शिक्षकबाट गाली पनि खानुपरेको थियो । तर प्रविधिप्रतिको रुचि भने कहिल्यै घटेन ।

विद्यालयमा अध्ययनरत रहँदा उनले असाधारण गणितीय क्षमता देखाएका थिए । कक्षा ८ मै कलेजस्तरका गणितका प्रश्न सहजै समाधान गर्न थालेपछि उनी प्रतिभाशाली विद्यार्थीका रूपमा चिनिन थाले ।

अभिभावकको फरक सोच
लियाङका अभिभावक स्वयं शिक्षक थिए । तर उनीहरूले छोराको अंक वा श्रेणीभन्दा पनि नयाँ कुरा सिक्ने र समस्या समाधान गर्ने क्षमतामा जोड दिएका थिए । यही वातावरणले लियाङलाई सिर्जनात्मक सोचतर्फ प्रेरित गरेको बताइन्छ ।

समयभन्दा अगाडि देखेको सम्भावना
सन् २०१९ मा अधिकांश कम्पनीहरूले एआईलाई प्राथमिकता नदिइरहेका बेला लियाङले भविष्यको आवश्यकता अनुमान गर्दै १० हजार एआई चिप खरिद गरेका थिए । त्यतिबेला उनको निर्णयको आलोचना भएपनि पछि एआईको तीव्र विकाससँगै त्यही निर्णय दूरदर्शी सावित भयो ।

कामप्रतिको समर्पण
इन्जिनियरिङमा स्नातकोत्तर गरेका लियाङ आफ्नो अनुसन्धान र एआई विकासमा यति केन्द्रित थिए कि नयाँ घर किनेपछि पनि निर्माण पूरा नगरी अधुरो घरभित्र पाल टाँगेर बस्ने गरेका थिए । उनको अधिकांश समय कोड लेख्ने र नयाँ एआई मोडेल विकास गर्नमै बित्थ्यो ।

गाउँमा पनि बने प्रेरणा
सन् २०२५ मा डीपसीकले विश्वव्यापी सफलता हासिल गरेपछि लियाङ आफ्नो गाउँ मिलिलिङका गर्वका पात्र बने । चिनियाँ नयाँ वर्षका अवसरमा गाउँभर उनका स्वागत ब्यानर राखिएका थिए । उनी भेट्न नपाए पनि धेरै मानिस उनका हजुरबुबासँग तस्बिर खिचेर फर्किने गरेका थिए ।