कीवर्डहरू -

कपी गर्नेको कमाइ बन्द, एक्सले पैसा अब वास्तविक क्रियटरलाई दिने

कपी गर्नेको कमाइ बन्द, एक्सले पैसा अब वास्तविक क्रियटरलाई दिने

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) ले अरूको सामाग्री कपी गरेर ‘रि–पोस्ट’ गर्ने प्रयोगकर्तामाथि कडा नीति लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार अब कपी गरिएको सामाग्रीबाट हुने विज्ञापन आम्दानी पोस्ट गर्ने व्यक्तिले होइन, वास्तविक सामाग्री सिर्जना गर्ने क्रियटरले पाउनेछन् ।

कम्पनीले कन्टेन्ट चोरी र कृत्रिम रूपमा लाइक, कमेन्ट तथा फलोअर्स बढाउने गतिविधि नियन्त्रण गर्न कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित नयाँ प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ । यो प्रणालीले कपी गरिएको टेक्स्ट, भिडियो तथा अन्य सामाग्री स्वतः पहिचान गरी त्यसअनुसार राजस्व वितरण गर्नेछ ।

एक्सका अनुसार नयाँ प्रणाली कम्पनीको आफ्नै एआई मोडल ग्रोकको पछिल्लो संस्करणमा आधारित छ । कम्पनीका प्रडक्ट प्रमुख निकिता बियरले अघिल्लो प्रणालीको तुलनामा नयाँ प्रविधिले कपी गरिएको सामाग्री तीन गुणासम्म प्रभावकारी रूपमा पहिचान गर्न सक्ने दाबी गरेकी छन् ।

अब भिडियोमा वाटरमार्क थप्ने, सानो सम्पादन गर्ने वा छोटो क्लिप जोडेर अरूको सामाग्री आफ्नै जस्तो देखाउने प्रयासबाट पनि आम्दानी गर्न नसकिने कम्पनीले स्पष्ट पारेको छ । यही नियम कपी गरिएका टेक्स्ट पोस्टमा पनि लागू हुनेछ ।

एक्सले हालै गरेको परीक्षणका क्रममा करिब १५ लाख कपी गरिएका पोस्ट पहिचान गरिएको जनाएको छ । कम्पनीका अनुसार नयाँ प्रणाली लागू भएपछि कपी गर्ने खातामा जाने तयारीमा रहेको १० लाख अमेरिकी डलरभन्दा बढी विज्ञापन आम्दानी वास्तविक क्रियटरलाई हस्तान्तरण गरिनेछ ।

कम्पनीले सामाग्री चोरीसँगै ‘इन्गेजमेन्ट बेट’ विरुद्ध पनि अभियान थालेको छ । फलो ब्याक, लाइक वा कमेन्ट गर्न आग्रह गरेर कृत्रिम रूपमा अन्तर्क्रिया बढाउने गतिविधिमा संलग्न प्रयोगकर्तामाथि पनि कारबाही गरिनेछ ।

नयाँ नियमअनुसार तीन वा सोभन्दा बढी पटक यस्ता गतिविधिमा संलग्न भएको पाइएमा सम्बन्धित क्रियटरलाई मोनिटाइजेसन कार्यक्रमबाट हटाइनेछ । गम्भीर अवस्थामा खाता नै निलम्बन ९सस्पेन्ड० हुन सक्ने कम्पनीले जनाएको छ ।

यससँगै एक्सले स्वचालित ‘बट’ अकाउन्टविरुद्धको निगरानी पनि थप कडा बनाएको छ । कम्पनीका अनुसार हाल प्रतिमिनेट २०८ वटा बट अकाउन्ट पहिचान गरी निलम्बन गरिँदै आएको छ ।

एक्सले प्रयोगकर्तालाई अन्य प्लेटफर्मबाट सामाग्री कपी गर्नुको सट्टा आफ्नै मौलिक सामाग्री तयार गर्न प्रोत्साहन गर्दै भिडियो रेकर्डिङ र सम्पादनका नयाँ सुविधा पनि थपेको जनाएको छ ।