काठमाडौं । हाम्रो पात्रो अन्तर्गत सञ्चालित डिजिटल वालेट हाम्रो पे र ग्लोबल क्रिएटर मार्केटिङ प्लेटफर्म भीलबीच संस्थागत सहकार्य भएको छ । नेपाल र भारतमा औपचारिक रूपमा सेवा सुरु गरेको भीलले नेपालमा आफ्ना क्रिएटरहरूलाई भुक्तानी उपलब्ध गराउन हाम्रो पेलाई आधिकारिक पेमेन्ट पार्टनरका रूपमा चयन गरेको हो ।
यस सहकार्यसँगै भील प्लेटफर्ममा आबद्ध नेपाली डिजिटल क्रिएटरहरूले आफ्नो व्यावसायिक कमाइ सुरक्षित, छिटो र सहज रूपमा हाम्रो पेमार्फत प्राप्त गर्न सक्नेछन् । यसले क्रिएटरहरूलाई भुक्तानी प्राप्त गर्ने क्रममा देखिने अनावश्यक झन्झट, लामो प्रक्रिया र प्राविधिक कठिनाइ कम गर्दै सरल डिजिटल अनुभव प्रदान गर्नेछ ।
नेपालमा डिजिटल कन्टेन्ट निर्माण, ब्रान्ड सहकार्य र इन्फ्लुएन्सर मार्केटिङको क्षेत्र तीव्र रूपमा विस्तार भइरहेको छ । तर धेरै क्रिएटरका लागि आफ्नो कामको भुक्तानी समयमै, सुरक्षित र भरपर्दो रूपमा प्राप्त गर्नु अझै चुनौतीपूर्ण छ ।
हाम्रो पे र भिलबीचको संस्थागत सहकार्यले यही चुनौतीलाई सम्बोधन गर्दै नेपाली क्रिएटरहरूलाई आफ्नो काम र आम्दानी थप व्यवस्थित रूपमा अगाडि बढाउन सहयोग गर्ने उद्देश्य राखेको छ ।
यस सहकार्यका विषयमा हाम्रो पात्रोकी अपरेसन्स डाइरेक्टर सुदिना गौतमले भनिन्- “नेपालमा क्रिएटर इकोनोमी तीव्र रूपमा विस्तार भइरहेको छ । आफ्नो प्रतिभा, सिर्जनशीलता र मेहनतबाट आम्दानी गरिरहेका नेपाली क्रिएटरलाई सुरक्षित, छिटो र सहज भुक्तानी सेवा उपलब्ध गराउनु हाम्रो लागि महत्त्वपूर्ण छ । भीलसँगको यो संस्थागत सहकार्यले क्रिएटरहरूलाई आफ्नो कमाइ प्राप्त गर्ने प्रक्रिया सरल बनाउनुका साथै नेपालको डिजिटल व्यवसाय र क्रिएटर इकोनोमीलाई थप व्यवस्थित, समावेशी र पहुँचयोग्य बनाउन सहयोग गर्नेछ ।”
आईसीटी समाचार