काठमाडौं । गुगल डिपमाइन्डले आफ्ना जेमिनी (Gemini) एआई मोडलको शृङ्खलामा तीन नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले Gemini 3.6 Flash, Gemini 3.5 Flash Lite र Gemini 3.5 Flash Cyber सार्वजनिक गर्दै ती मोडलहरू उच्च कार्य क्षमता, कम प्रतिक्रिया समय (लो लेटेन्सी) र बढी विश्वसनीयता आवश्यक पर्ने एआई एजेन्ट विकासका लागि लक्षित गरिएको जनाएको छ ।
Gemini 3.6 Flash यस शृङ्खलाको मुख्य उच्च-प्रदर्शन मोडल हो । गुगलका अनुसार यसले कोडिङ, सामान्य ज्ञान तथा मल्टिमोडल (पाठ, तस्बिर लगायत) सम्बन्धी कार्यहरूमा उत्कृष्ट प्रदर्शन गर्ने क्षमता राख्छ ।
त्यस्तै, Gemini 3.5 Flash Lite शृङ्खलाकै सबैभन्दा तीव्र र कम लागतको मोडल हो । यसलाई कम खर्चमा ठूलो मात्रामा एआई एप्लिकेसन तथा एजेन्ट सञ्चालन गर्न सकिने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
यसैगरी, Gemini 3.5 Flash Cyber विशेष रूपमा साइबर सुरक्षाका लागि तयार पारिएको मोडल हो । यसले सफ्टवेयरमा रहेका सुरक्षा कमजोरी (भल्नरेबिलिटी) र बगहरू पहिचान गर्न तथा तिनको समाधानमा सहयोग पुर्याउने उद्देश्य राखेको छ ।
गुगलका अनुसार यो मोडल हाल सीमित परीक्षण (Limited Preview) का लागि सरकार तथा आधिकारिक साझेदारहरूलाई मात्र उपलब्ध गराइनेछ ।
गुगलले नयाँ फ्ल्याश मोडलहरू सार्वजनिक गर्नुको मुख्य उद्देश्य ठूलो स्तरमा एआई एजेन्ट निर्माण गरिरहेका ग्राहकलाई उच्च कार्यक्षमता, कम ढिलाइ (Low Latency) र भरपर्दो सेवा उपलब्ध गराउनु रहेको जनाएको छ ।
यद्यपि, यसपटकको घोषणामा धेरैले अपेक्षा गरेको Gemini Pro को नयाँ संस्करण सार्वजनिक नगरिएकाले पनि प्रविधि क्षेत्रमा यसको चर्चा भएको छ ।
आईसीटी समाचार