काठमाडौं । ह्वाट्सएपले विभिन्न प्लेटफर्मका प्रयोगकर्ताका लागि नयाँ सुविधाहरू सार्वजनिक गरेको छ । नयाँ अपडेटसँगै अब एप्पलका प्रयोगकर्ताले आइप्याडबाटै सीधै नयाँ ह्वाट्सएप अकाउन्ट दर्ता गर्न सक्नेछन् ।
साथै, एप्पल म्युजिक र स्पोटिफाईका गीतहरू सिधै ह्वाट्सएप स्ट्याटसमा सेयर गर्न, कारप्ले तथा एन्ड्रोइड अटोमा सुधारिएको अनुभव प्राप्त गर्न र पीडीएफ फाइलसँग सम्बन्धित नयाँ सुविधाहरू प्रयोग गर्न सकिने भएको छ ।
आइप्याडबाटै नयाँ ह्वाट्सएप अकाउन्ट
यसअघि आइप्याडमा ह्वाट्सएप प्रयोग गर्न स्मार्टफोनमा पहिले नै दर्ता भएको अकाउन्टलाई Linked Device का रूपमा जोड्नुपर्ने व्यवस्था थियो । तर, Direct Registration सुविधा उपलब्ध भएसँगै अब प्रयोगकर्ताले मोबाइल फोनको आवश्यकता बिना नै आइप्याडबाटै नयाँ ह्वाट्सएप अकाउन्ट सिर्जना गर्न सक्नेछन् ।
नयाँ अपडेटपछि आइप्याड प्रयोगकर्ताले:
- मोबाइलमा पहिले अकाउन्ट नबनाई सिधै आइप्याड एपबाटै नयाँ ह्वाट्सएप अकाउन्ट दर्ता गर्न सक्नेछन् ।
- स्मार्टफोनलाई Linked Device का रूपमा जोड्नुपर्ने बाध्यता हट्नेछ ।
स्ट्याटसमा अब सिधै गीत सेयर गर्न सकिने
ह्वाट्सएपले स्ट्याटस फिचरमा पनि सुधार गरेको छ । अब प्रयोगकर्ताले एप्पल म्युजिक वा स्पोटिफाईबाट मनपर्ने गीत सिधै ह्वाट्सएप स्ट्याटसमा सेयर गर्न सक्नेछन् । यसले लिङ्क कपी गर्ने वा गीतको विवरण आफैं टाइप गर्नुपर्ने झन्झट हटाउने कम्पनीको विश्वास छ ।
कारप्ले र एन्ड्रोइड अटोमा नयाँ अनुभव
ह्वाट्सएपले एप्पल कारप्ले र एन्ड्रोइड अटोका लागि पनि इन्टरफेस परिमार्जन गरेको छ । नयाँ डिजाइनमार्फत चालकले हातको प्रयोग नगरी भ्वाइस कमान्डमार्फत मेसेज सुन्न, जवाफ पठाउन, ह्वाट्सएप कल गर्न, कल हिस्ट्री हेर्न तथा मनपर्ने सम्पर्कहरूलाई सहजै सम्पर्क गर्न सक्नेछन् ।
पीडीएफ प्रयोग अझ सहज
ह्वाट्सएपले पीडीएफ फाइल व्यवस्थापनका लागि पनि नयाँ सुविधा थपेको छ । अब प्रयोगकर्ताले पीडीएफ फाइल डाउनलोड नगरीकनै च्याटभित्रै खोलेर हेर्न सक्नेछन् । साथै, Adobe Acrobat को सहयोगमा च्याट विन्डो नछाडीकनै पीडीएफमा मुख्य अंश हाईलाइट गर्न र टिप्पणी (Annotations) थप्न सकिनेछ ।
यद्यपि, यीमध्ये केही सुविधा हाल ह्वाट्सएपको वेब र डेस्कटप संस्करणमा मात्र उपलब्ध छन् । कम्पनीका अनुसार यी नयाँ सुविधाहरू क्रमश: विश्वभरका प्रयोगकर्तामाझ उपलब्ध गराइँदै छन् ।
आईसीटी समाचार