कीवर्डहरू -

एक बन्द, अर्को खुल्ने चुनौतीबीच २ लाखभन्दा बढी बेटिङ वेबसाइट बन्द

एक बन्द, अर्को खुल्ने चुनौतीबीच २ लाखभन्दा बढी बेटिङ वेबसाइट बन्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (NTA) ले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैध वित्तीय कारोबारमा संलग्न २ लाख २३ हजार ५६८ वटा वेबसाइट र मोबाइल एप बन्द गरेको जनाएको छ । सरकारले दिएको जिम्मेवारीअनुसार प्राधिकरणले यस्ता प्लेटफर्मविरुद्धको निगरानी र कारबाहीलाई तीव्र बनाएको हो ।

सरकारले चैत १३ गते सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अनलाइन बेटिङसम्बन्धी वेबसाइट तथा एप २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था मिलाउने जिम्मेवारी दिएको थियो । सोही निर्देशनअनुसार प्राधिकरणले विशेष अभियान सञ्चालन गरेको जनाएको छ ।

प्राधिकरणका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष चासोपछि यसका लागि छुट्टै कार्यदल गठन गरिएको थियो । विश्वकप प्रतियोगिताको अवधिमा अनलाइन बेटिङको गतिविधि बढ्ने सम्भावनालाई ध्यानमा राख्दै अभियानलाई थप प्रभावकारी बनाइएको थियो ।

प्राधिकरणका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार इन्टरनेट सेवा प्रदायक (ISP) सँगको समन्वयमा बेटिङ तथा अवैध वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइटहरूको URL ब्लक गरेर पहुँच रोक्ने काम गरिएको हो ।

उनले यस्ता वेबसाइटहरू निरन्तर नयाँ डोमेन र ठेगानाबाट सञ्चालनमा आउने भएकाले एउटा बन्द गरेपछि अर्को खुल्ने चुनौती रहेको बताए । त्यसैले नयाँ वेबसाइटको पहिचान गर्न Threat Intelligence Tool प्रयोग गरी निरन्तर निगरानी र खोजी गर्ने व्यवस्था मिलाइएको छ । यसका लागि छुट्टै प्राविधिक जनशक्ति पनि परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विभिन्न अधिकारप्राप्त निकायबाट प्राप्त सूचीका आधारमा बेटिङ तथा अवैध वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइट र एपहरू पहिचान गरी इन्टरनेट सेवा प्रदायकसँगको सहकार्यमा बन्द गर्दै आएको जनाएको छ ।

यसैबीच, प्राधिकरणले अनलाइन बेटिङ वा अवैध वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइट वा एपबारे जानकारी भए नागरिकलाई पनि सूचना दिन आग्रह गरेको छ । प्राप्त सूचनाका आधारमा आवश्यक अनुसन्धान गरी त्यस्ता प्लेटफर्ममाथि थप कारबाही अघि बढाइने प्राधिकरणले जनाएको छ ।