कीवर्डहरू -

राष्ट्र बैंकको नयाँ नियम : ई-वालेटमा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य

राष्ट्र बैंकको नयाँ नियम : ई-वालेटमा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले ई-वालेट प्रयोगकर्ताको विवरण थप व्यवस्थित बनाउन भुक्तानी सेवा प्रदायक (पीएसपी) कम्पनीहरूलाई राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य रूपमा प्रमाणीकरण गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनअनुसार अब नेपाली नागरिकका नाममा ई-वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखका आधारमा प्रयोगकर्ताको विवरण यकिन गर्नुपर्नेछ ।

निर्देशनमा भुक्तानी सेवा प्रदायक संस्थाहरूले २०८३ असोज मसान्तभित्र मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट सबै वालेट प्रयोगकर्तासँग राष्ट्रिय परिचयपत्र रहेको वा नरहेको सम्बन्धमा स्व:घोषणा लिनुपर्ने उल्लेख गरिएको छ । यस अवधिभित्र राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका प्रयोगकर्ताको विवरण सम्बन्धित वालेटमा अद्यावधिक गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

राष्ट्रिय परिचयपत्र नबनाएका प्रयोगकर्ताको हकमा भने परिचयपत्र बनाएर ग्राहक पहिचान (केवाइसी) विवरण अद्यावधिक गर्न प्रत्येक महिनामा मोबाइल एप वा अन्य माध्यमबाट सूचना दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

विदेशमा बसोबास गर्दै अनलाइनमार्फत ई-वालेट खोल्ने नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभए पनि अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न सक्नेछन् । तर नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित भुक्तानी सेवा प्रदायकले राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरी ग्राहकको केवाइसी अद्यावधिक गर्नुपर्नेछ ।

त्यस्तै, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकका लागि पनि राष्ट्र बैंकले विशेष व्यवस्था गरेको छ । यस्तो अवस्थामा राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक कागजातका आधारमा ई-वालेट खोल्न र कारोबार गर्न सकिनेछ ।

राष्ट्र बैंकका अनुसार नयाँ व्यवस्था लागू भएपछि ई-वालेट प्रयोगकर्ताको पहिचान थप विश्वसनीय बन्ने, केवाइसी प्रणाली सुदृढ हुने तथा डिजिटल भुक्तानी प्रणालीलाई अझ सुरक्षित र पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।