काठमाडौं । कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, ड्रोन, अनुसन्धान र नवप्रवर्तनका पछिल्ला प्रविधिबारे प्रत्यक्ष अनुभव गराउने उद्देश्यका साथ ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ आयोजना हुने भएको छ । कार्यक्रम साउन १० गते आइतबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।
आयोजकका अनुसार विद्यार्थी, प्रविधिप्रेमी, अनुसन्धानकर्ता, स्टार्टअप तथा उद्योग क्षेत्रका विज्ञलाई एउटै प्लेटफर्ममा जोड्दै ज्ञान आदान प्रदान, सीप विकास र सहकार्यको वातावरण सिर्जना गर्ने लक्ष्यसहित फेस्ट आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा एआई, रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा करिअर विकाससँग सम्बन्धित विविध सत्र, कार्यशाला, प्यानल छलफल, प्रतियोगिता र प्रदर्शनी सञ्चालन गरिनेछ । सहभागीहरूले अत्याधुनिक प्रविधिको प्रत्यक्ष अवलोकन मात्र नभई प्रयोगात्मक अभ्यास गर्ने अवसरसमेत पाउने आयोजकको भनाइ छ ।
सनवे कलेजका प्रिन्सिपल खुशल रेग्मीका अनुसार रोबोटिक्स तथा ड्रोन वर्कसप कार्यक्रमको मुख्य आकर्षण रहनेछ । यसमा सहभागीहरूले आधुनिक रोबोट र ड्रोन प्रणालीको सञ्चालन, प्रयोग तथा सम्भावनाबारे व्यावहारिक रूपमा सिक्ने अवसर प्राप्त गर्नेछन् ।
यसैगरी, पछिल्लो समय विश्वभर लोकप्रिय बन्दै गएको भाइब कोडिङ (Vibe Coding) विषयमा विशेष वर्कसप तथा प्रतियोगिता आयोजना गरिनेछ । एआई टुलको प्रयोगमार्फत छिटो, प्रभावकारी र सिर्जनात्मक सफ्टवेयर विकास गर्ने विधिबारे सहभागीलाई प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।
कार्यक्रममा ‘एआई इन जर्नालिजम’, ‘फिजिकल एआई’, ‘एआई फर प्रोडक्टिभिटी’ तथा ‘एआई टक सिरिज’ अन्तर्गत विभिन्न विषयमा विज्ञहरूको प्यानल छलफल हुनेछ । छलफलमा पत्रकारिता, बौद्धिक सम्पत्ति अधिकार (आईपी), डाटा गोपनीयता, स्वास्थ्य, उद्योग तथा दैनिक जीवनमा एआईको प्रयोग, अवसर र चुनौतीबारे विज्ञहरूले आफ्ना अनुभव साझा गर्नेछन् ।
एआई एसोसिएसन अफ नेपाल, रोबोटिक्स एसोसिएसन, फिनटेक एसोसिएसन, नामीलगायत विभिन्न संस्थाको सहकार्यमा एआईसम्बन्धी विशेष सत्र तथा प्राविधिक कार्यशालाहरू सञ्चालन गरिने कार्यक्रम तालिकामा उल्लेख छ ।
विद्यार्थीको सिर्जनशीलता र अनुसन्धानलाई प्रोत्साहन गर्न स्टुडेन्ट इनोभेसन शोकेस समेत आयोजना हुनेछ । यसअन्तर्गत अन्तिम वर्षका परियोजना, पहिलो वर्षका नवीन अवधारणा, अनुसन्धानमूलक काम तथा अन्य नवप्रवर्तनात्मक परियोजनाहरू प्रदर्शन गरिनेछन् । यसले विद्यार्थीलाई आफ्ना परियोजना उद्योग, लगानीकर्ता र विज्ञमाझ प्रस्तुत गर्ने अवसर उपलब्ध गराउने आयोजकको विश्वास छ ।
युवा जनशक्तिको व्यावसायिक क्षमता अभिवृद्धिका लागि करिअर काउन्सिलिङ र मक इन्टरभ्यु सत्र पनि सञ्चालन हुनेछ । सहभागीहरूले उद्योगका प्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै रोजगारीका अवसर, अन्तर्वार्ता तयारी र करिअर योजनाबारे उपयोगी सुझाव प्राप्त गर्न सक्नेछन् ।
प्रविधिसँगै मनोरञ्जनलाई पनि प्राथमिकतामा राखिएको कार्यक्रममा फुड स्टल, इन्टरएक्टिभ गेम, फोटो बुथ तथा अन्य आकर्षक गतिविधिहरू समावेश गरिनेछन् । आयोजकले विद्यार्थी, प्रविधिप्रेमी, अनुसन्धानकर्ता, स्टार्टअप, उद्योग क्षेत्रका प्रतिनिधि तथा नवप्रवर्तनमा रुचि राख्ने सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।
कार्यक्रममा सहभागिताका लागि पोस्टरमा रहेको क्यूआर कोड स्क्यान गरी अनलाइन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।
आईसीटी समाचार