काठमाडौं । शेयर बजारमा लगानी गर्नेहरूले आफ्नो डिम्याट (हितग्राही) खाता साउन १५ गतेभित्र नवीकरण नगरे साउन १६ गतेदेखि खाता रोक्का हुने भएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सूचना जारी गर्दै तोकिएको समयभित्र वार्षिक शुल्क नतिर्ने लगानीकर्ताको डिम्याट खाता अस्थायी रूपमा निष्क्रिय गरिने जनाएको हो ।
डिम्याट खाता रोक्का भएपछि सम्बन्धित लगानीकर्ताले दोस्रो बजारमा शेयर खरिद बिक्री गर्न, शेयर हस्तान्तरण गर्न तथा डिम्याटसँग सम्बन्धित अन्य सेवा लिन सक्ने छैनन् । नियमअनुसार प्रत्येक आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तभित्र डिम्याट खाताको वार्षिक शुल्क बुझाउनु पर्ने व्यवस्था छ ।
तर समयमै शुल्क नतिर्ने लगानीकर्तालाई थप अवसर दिँदै सीडीएससीले साउन १५ गतेसम्म नवीकरण गर्न सकिने जनाएको छ । डिम्याट खाताको वार्षिक नवीकरण शुल्क १०० रुपैयाँ तोकिएको छ भने मेरो शेयर सेवाको नवीकरण शुल्क ५० रुपैयाँ रहेको छ । यसरी दुवै सेवा नवीकरण गर्न लगानीकर्ताले १५० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
पछिल्लो समय नेपाली शेयर बजारमा लगानीकर्ताको संख्या बढ्दै जाँदा डिम्याट खाता प्रयोगकर्ताको संख्या पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ । सीडीएससीका अनुसार हाल ८० लाख ९ हजार ६२३ डिम्याट खाता सञ्चालनमा छन् ।
लगानीकर्ताले घरमै बसेर अनलाइनमार्फत डिम्याट खाता नवीकरण गर्न सक्नेछन् । मेरो शेयर प्रणालीमा लगइन गरी दिइएको निर्देशनअनुसार ईसेवा, खल्ती, प्रभु पे, आईएमई पेलगायतका डिजिटल वालेटबाट शुल्क भुक्तानी गरी खाता नवीकरण गर्न सकिने व्यवस्था रहेको छ ।
डिम्याट र मेरो शेयर प्रणालीमार्फत लगानीकर्ताले आईपीओ, एफपीओ, हकप्रद शेयरमा आवेदन दिनुका साथै दोस्रो बजारमा खरिद बिक्री भएका शेयरको हस्तान्तरणलगायतका सेवा प्रयोग गर्दै आएका छन् । समयमै नवीकरण नगरे यी सेवामा अस्थायी अवरोध हुन सक्ने भएकाले तोकिएको मितिभित्र शुल्क तिर्न सीडीएससीले आग्रह गरेको छ ।
आईसीटी समाचार