काठमाडौं । हिरोद्वारा सञ्चालित विद्युतीय दुई पाङ्ग्रे ब्रान्ड भिडाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा गरेको छ । योसँगै भिडाले आफ्नो विश्वव्यापी विस्तारको सुरुवात गरेको हो ।
नेपाली ग्राहकहरूको बहुआयामिक जीवनशैली र आवश्यकताअनुरूप भिडा भिएक्स २ इभुटर सिरिज तथा युवापुस्ता लक्षित भिडा डिर्ट ई के थ्री विद्युतीय अफ–रोड मोटरसाइकल अब नेपाली बजारमा उपलब्ध हुनेछ ।
दैनिक आवतजावत प्रयोजनका लागि डिजाइन गरिएको भिडा भिएक्स २ इभुटर ले अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज, शक्तिशाली कार्यक्षमता तथा उच्च गुणस्तरका कारण विश्वप्रसिद्ध अनुसन्धान संस्था जेडी पावरको दुई पाङ्ग्रे सवारी साधनको प्रारम्भिक गुणस्तर अध्ययन मा उत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।
त्यस्तै, भिडा डिर्ट ई के थ्रीले युवापुस्तालाई सुरक्षित, रोमाञ्चक तथा पूर्ण रूपमा विद्युतीय अफ–रोड राइडिङ अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ । नेपालमा भिडाका उत्पादनहरू सीजी मोटर्स (चौधरी ग्रुप) मार्फत आधिकारिक रूपमा उपलब्ध हुनेछन् ।
चौधरी ग्रुप नेपालका अग्रणी व्यावसायिक समूहहरूमध्ये एक हो । जसले विश्वभर १६० भन्दा बढी कम्पनीहरू तथा १२३ ब्रान्डहरू सञ्चालन गर्दै आएको छ ।
यस ऐतिहासिक अवसरमा हिरो मोटोक्रपन्तर्गतको इमर्जिङ मोबिलिटी बिजनेस युनिटका प्रमुख व्यापार अधिकृत कौशल्या नन्दकुमारले भने, 'भिडाको अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु हुनु हाम्रो लागि गर्वको विषय हो । नेपाल हाम्रो लागि रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण बजार हो, जहाँ विद्युतीय सवारीप्रति आकर्षण तीव्र रूपमा बढिरहेको छ । भारतमा विकसित हाम्रो उत्कृष्ट इन्जिनियरिङ तथा डिजाइन क्षमतालाई अब नेपाली ग्राहकसम्म पुर्याउन पाउँदा हामी उत्साहित छौं । सिजी मोटर्ससँगको सहकार्यमार्फत नेपाली ग्राहकलाई प्रिमियम, भरपर्दो र अत्याधुनिक विद्युतीय दुईपांग्रे अनुभव प्रदान गर्न प्रतिबद्ध छौं ।'
त्यसैगरी चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, 'नेपाल दिगो तथा हरित यातायाततर्फ तीव्र रूपमा अघि बढिरहेको छ । भिडाको नेपाल प्रवेशले यो परिवर्तनलाई अझ गति दिने विश्वास लिएका छौं । दैनिक प्रयोगकर्ता तथा नयाँ पुस्ताका राइडरहरूको आवश्यकता अनुरूप विकसित यी अत्याधुनिक विद्युतीय उत्पादनहरूले नेपालको दुईपांग्रे बजारमा नयाँ मानक स्थापित गर्नेछन् । हिरो मोटोक्रपसँगको हाम्रो लामो सहकार्यलाई भिडा मार्फत अझ सुदृढ बनाउँदै नेपालको हरित भविष्य निर्माणमा योगदान दिन पाउँदा हामी गर्व गर्छौं ।'
आईसीटी समाचार