कीवर्डहरू -

फेसबुक मार्केटप्लेसका लागि मेटाले ल्यायो नयाँ ‘सेलर’ एप

फेसबुक मार्केटप्लेसका लागि मेटाले ल्यायो नयाँ ‘सेलर’ एप

काठमाडौं । मेटाले फेसबुक मार्केटप्लेसमार्फत धेरै सामान बिक्री गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ‘सेलर’ नामक नयाँ एप सार्वजनिक गरेको छ । एपमा कृत्रिम बुद्धिमत्ता (एआई) मार्फत लिस्टिङ तयार गर्ने, एकीकृत इनबक्स, सामान व्यवस्थापन गर्ने तथा बिक्रीसम्बन्धी विवरण हेर्न सकिने सुविधा उपलब्ध गराइएको छ ।

यो एप फेसबुक मार्केटप्लेससँग सिंक हुने भएकाले लिस्टिङ, ग्राहकका सन्देश र बिक्रीसम्बन्धी विवरण व्यवस्थापन गर्न सहज हुने मेटाले जनाएको छ । कम्पनीका अनुसार, एकै स्थानबाट धेरै लिस्टिङ व्यवस्थापन गर्दै व्यवसाय विस्तार गर्न पनि यसले सहयोग पुर्‍याउनेछ ।

सेलर एपमा बिक्री व्यवस्थापनका लागि आवश्यक कार्यहरू तथा बिक्री प्रदर्शन (सेल्स परफर्मेन्स) हेर्न सकिने सुविधा रहेको छ । प्रयोगकर्ताले फोटो अपलोड गरेपछि मेटाको एआईले शीर्षक, विवरण, मूल्य सुझाव र उपयुक्त श्रेणी तयार गर्न सहयोग गर्नेछ । साथै, एकैपटक धेरै लिस्टिङ सिर्जना गर्न सकिने सुविधा पनि समावेश गरिएको छ ।

एपमार्फत सबै खरिदकर्ताका सन्देशहरू एउटै इनबक्समा व्यवस्थापन गर्न सकिनेछ । साथै, लिस्टिङको भ्यु, क्लिक, सन्देश तथा बिक्री भएका सामानको तथ्यांक हेरेर आफ्नो बिक्री प्रदर्शन विश्लेषण गर्न सकिने सुविधा पनि उपलब्ध छ ।

नयाँ ‘सेलर’ एपले फेसबुक मार्केटप्लेसलाई व्यक्तिगत किनबेचको प्लेटफर्मबाट व्यावसायिक विक्रेतासमेत सहभागी हुने बजारका रूपमा विस्तार गर्ने अपेक्षा गरिएको छ । मेटाका अनुसार, फेसबुक मार्केटप्लेसमा विश्वभर प्रत्येक महिना १ अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ता छन् भने करिब ४३ करोड वस्तुहरूको सूचीकरण हुने गरेको छ ।

हाल ‘सेलर’ एप अमेरिकामा १८ वर्ष वा सोभन्दा माथिका प्रयोगकर्ताका लागि आईओएस र एन्ड्रोइड दुवै प्लेटफर्ममा उपलब्ध रहेको मेटाले जनाएको छ ।