काठमाडौं । विभिन्न अपरेटिङ सिस्टम भएका डिभाइसबीच छिटो, सुरक्षित र झन्झटरहित रूपमा फाइल आदान प्रदान गर्न LocalSend प्रभावकारी विकल्प बनेको छ । यो नि:शुल्क र ओपन–सोर्स फाइल सेयरिङ एप हो, जसले Windows, macOS, Linux, Android र iPhone (iOS) जस्ता प्लेटफर्मबीच कुनै अतिरिक्त सेटअप वा खाता बिना नै फाइल पठाउने सुविधा दिन्छ ।
LocalSend को सबैभन्दा ठूलो विशेषता भनेको एउटै Wi-Fi नेटवर्कमा रहेका डिभाइसहरूबीच सिधै फाइल आदान–प्रदान गर्न सकिनु हो । यसका लागि इन्टरनेट, क्लाउड स्टोरेज, USB वा इमेलको आवश्यकता पर्दैन ।
कसरी प्रयोग गर्ने ?
LocalSend प्रयोग गर्न निकै सहज छ । सबै डिभाइसमा एप इन्स्टल गरी एउटै Wi-Fi नेटवर्कमा जडान गरेपछि नजिकका डिभाइसहरू स्वत: देखिन्छन् । त्यसपछि पठाउन चाहेको फोटो, भिडियो, कागजात वा फोल्डर छानेर गन्तव्य डिभाइस चयन गरेपछि फाइल केही क्षणमै पठाउन सकिन्छ ।
किन उपयोगी छ LocalSend ?
LocalSend मार्फत फाइलहरू कुनै बाह्य सर्भरमा अपलोड हुँदैनन् । सबै फाइल सिधै एक डिभाइसबाट अर्को डिभाइसमा स्थानान्तरण हुने भएकाले यो विधि छिटो र सुरक्षित मानिन्छ । विशेष गरी ठूला फाइलहरू स्थानान्तरण गर्न यो एप निकै उपयोगी छ ।
मोबाइलमा खिचिएका स्क्रिनसट वा फोटो कम्प्युटरमा सार्न, प्रिन्टका लागि आवश्यक फाइल तुरुन्त पठाउन वा विभिन्न अपरेटिङ सिस्टम भएका डिभाइसबीच फाइल आदान–प्रदान गर्न LocalSend प्रभावकारी समाधानका रूपमा प्रयोग गर्न सकिन्छ ।
आईसीटी समाचार