कीवर्डहरू -

च्याटजीपीटी अब स्वास्थ्य सहायक पनि, ओपनएआईले ल्यायो ‘हेल्थ’ फिचर

च्याटजीपीटी अब स्वास्थ्य सहायक पनि, ओपनएआईले ल्यायो ‘हेल्थ’ फिचर

काठमाडौं । ओपनएआईले च्याटजीपीटी प्रयोगकर्ताका लागि स्वास्थ्यसम्बन्धी जानकारी बुझ्न र विश्लेषण गर्न सहज बनाउने उद्देश्यले नयाँ हेल्थ इन च्याटजीपीटी सुविधा सार्वजनिक गरेको छ ।

यस सुविधामार्फत प्रयोगकर्ताले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण च्याटजीपीटीसँग सुरक्षित रूपमा जोडेर त्यसको आधारमा विभिन्न जानकारी प्राप्त गर्न सक्नेछन् । प्रारम्भिक चरणमा भने यो सुविधा अमेरिकामा रहेका १८ वर्ष वा सोभन्दा माथिका प्रयोगकर्ताका लागि वेब र आईओएस प्लेटफर्ममा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

नयाँ सुविधाले एप्पल हेल्थ तथा अन्य समर्थित स्वास्थ्य सेवा प्लेटफर्मबाट प्राप्त मेडिकल रेकर्ड आयात गर्न सक्ने व्यवस्था गरेको छ । प्रयोगकर्ताले औषधिको विवरण, प्रयोगशाला परीक्षणको नतिजा, अस्पताल भ्रमणको इतिहास, निद्राको अवस्था, दैनिक शारीरिक गतिविधि लगायतका स्वास्थ्य विवरणका आधारमा च्याटजीपीटीसँग प्रश्न गर्न र त्यसबारे सरल भाषामा जानकारी लिन सक्नेछन् ।

ओपनएआईका अनुसार स्वास्थ्यसम्बन्धी जानकारी प्राय: विभिन्न एप र स्वास्थ्य संस्थाका प्रतिवेदनमा छुट्टाछुट्टै हुने भएकाले ती विवरणलाई एउटै स्थानमा बुझ्न र आवश्यक जानकारी निकाल्न सहज बनाउने उद्देश्यले यो सुविधा विकास गरिएको हो ।

कम्पनीले प्रयोगकर्ताको गोपनीयतालाई प्राथमिकता दिँदै च्याटजीपीटीसँग जोडिएका स्वास्थ्यसम्बन्धी व्यक्तिगत डेटा आफ्ना कृत्रिम बुद्धिमत्ता (एआई) मोडललाई प्रशिक्षण दिन प्रयोग नगरिने स्पष्ट पारेको छ ।

साथै, ती जानकारी लक्षित विज्ञापनका लागि पनि प्रयोग नहुने कम्पनीको भनाइ छ ।
ओपनएआईले आगामी दिनमा यो सुविधा थप देश र प्लेटफर्ममा विस्तार गर्ने तयारी रहेको संकेत दिएको छ ।