कीवर्डहरू -

उद्योग विभागका अधिकांश सेवा अब अनलाइनबाटै, कार्यालय धाउनुपर्ने झन्झट अन्त्य

उद्योग विभागका अधिकांश सेवा अब अनलाइनबाटै, कार्यालय धाउनुपर्ने झन्झट अन्त्य

काठमाडौं । उद्योग विभागले उद्योग प्रशासनसँग सम्बन्धित अधिकांश सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने व्यवस्था लागू गरेको छ । सेवाग्राहीलाई छिटो, सहज र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यले विभागले नयाँ प्रणाली कार्यान्वयनमा ल्याएको जनाएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनअनुसार उद्योग प्रशासनलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत विभागले उद्योग दर्ता, नवीकरण, अद्यावधिक, स्थानान्तरण, पुँजी तथा उत्पादन क्षमता वृद्धि, नाम तथा उद्देश्य संशोधन, विदेशी लगानी स्वीकृति, व्यावसायिक भिसा सिफारिस तथा वार्षिक प्रगति विवरणलगायत अधिकांश सेवा अनलाइनमार्फत सञ्चालनमा ल्याएको छ ।

विभागले जारी गरेको सूचनाअनुसार अनलाइन प्रणालीमा समावेश भएका सेवाका लागि अब सेवाग्राही स्वयं कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटाइएको छ । आवश्यक परे सम्बन्धित उद्योग वा कम्पनीका आधिकारिक प्रतिनिधिले आवश्यक परिचयपत्रसहित उपस्थित भएर प्रक्रिया पूरा गर्न सक्ने व्यवस्था गरिएको छ ।

यस्तै, अनलाइन प्रणालीअन्तर्गतका सेवाका आवेदन तथा आवश्यक कागजात अब भौतिक रूपमा बुझाउन नपर्ने विभागले स्पष्ट पारेको छ । सबै प्रक्रिया विद्युतीय माध्यमबाटै सम्पन्न हुने भएकाले सेवा प्रवाह अझ प्रभावकारी र पारदर्शी हुने विश्वास विभागको छ ।

मन्त्री यादवले मन्त्रालयको नेतृत्व सम्हालेयता उद्योग प्रशासनलाई डिजिटल, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्यसहित सेवा प्रवाहलाई सुधार गर्न निरन्तर पहल गर्दै आएकी छन् । विभागले उद्योगी तथा व्यवसायीलाई उपलब्ध अनलाइन सेवाको अधिकतम उपयोग गरी समय र लागत दुवै बचत गर्न आग्रह गरेको छ ।