काठमाडौं । आजको व्यस्त जीवनशैलीमा ल्याप्टप हाम्रो दैनिक कामको अभिन्न हिस्सा बनिसकेको छ । तर धेरै प्रयोगकर्ताले सामना गर्ने साझा समस्या भनेको ल्याप्टपको ब्याट्री छिट्टै सकिनु हो । पटक–पटक चार्ज गर्नुपर्ने अवस्थाले काममा बाधा पुर्याउनुका साथै ब्याट्रीको आयुमा पनि असर पार्न सक्छ । केही सामान्य सेटिङ र प्रयोग गर्ने तरिकामा सुधार ल्याएर भने ल्याप्टपको ब्याट्री लामो समयसम्म टिकाउन सकिन्छ ।
ल्याप्टपको ब्याट्री बचाउने सबैभन्दा प्रभावकारी उपायमध्ये एक विन्डोजमा उपलब्ध Battery Performance स्लाइडरको सही प्रयोग हो । आवश्यकता अनुसार पावर मोड परिवर्तन गर्दा ब्याट्रीको खपत नियन्त्रण गर्न सकिन्छ । विशेष गरी Battery Saver वा Best Power Efficiency मोड प्रयोग गर्दा स्क्रिनको चमक स्वत: कम हुने, ब्याकग्राउन्डमा चलिरहेका अनावश्यक एप तथा प्रक्रियाहरू सीमित हुने र केही अपडेटहरू स्थगित हुने भएकाले ब्याट्री लामो समयसम्म टिक्छ ।
त्यसैगरी, प्रयोगमा नभएका एपहरू खुला राख्दा पनि ब्याट्री अनावश्यक रूपमा खर्च हुन्छ । त्यसैले आवश्यक पर्ने एप मात्र सञ्चालन गर्नु राम्रो हुन्छ । इन्टरनेट, ब्लुटुथ वा अन्य वायरलेस सुविधा आवश्यक नभएको अवस्थामा Airplane Mode सक्रिय गर्दा पनि ब्याट्रीको खपत उल्लेखनीय रूपमा घट्छ । साथै, ब्याकग्राउन्डमा चलिरहेका अनावश्यक एपहरू बन्द गर्नाले प्रणालीको स्रोत साधन कम प्रयोग हुने भएकाले ब्याट्रीको आयु बढाउन मद्दत पुग्छ ।
डिस्प्ले र ग्राफिक्स सम्बन्धी सेटिङले पनि ब्याट्रीको खपतमा ठूलो प्रभाव पार्छ । स्क्रिनको ब्राइटनेस आवश्यकता अनुसार कम राख्दा ऊर्जा बचत हुन्छ । यदि ल्याप्टपमा डेडिकेटेड ग्राफिक्स कार्ड उपलब्ध छ भने त्यसलाई गेम, भिडियो सम्पादन वा अन्य उच्च ग्राफिक्स आवश्यक पर्ने सफ्टवेयरका लागि मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ । सामान्य कामका लागि इन्टिग्रेटेड ग्राफिक्स प्रयोग गर्न मिलाउने हो भने ब्याट्री कम खर्च हुन्छ । विन्डोजको Graphics Settings मार्फत कुन एपले कुन ग्राफिक्स प्रोसेसर प्रयोग गर्ने भन्ने छुट्टाछुट्टै निर्धारण गर्न सकिन्छ ।
यी सबै उपाय अपनाए पनि समयसँगै प्रत्येक ब्याट्रीको क्षमता स्वाभाविक रूपमा घट्दै जान्छ । त्यसैले समय–समयमा ब्याट्रीको स्वास्थ्य (Battery Health) जाँच गर्नु आवश्यक हुन्छ । यदि पहिलेको तुलनामा ब्याट्री धेरै छिटो सकिन थालेको छ वा पूर्ण रूपमा चार्ज हुन छाडेको छ भने ब्याट्रीको अवस्था परीक्षण गरी आवश्यक परे नयाँ ब्याट्री प्रतिस्थापन गर्नु उपयुक्त हुन्छ ।
साना–साना सावधानी र सही सेटिङको प्रयोगले ल्याप्टपको ब्याट्रीको आयु मात्र होइन, एकपटकको चार्जमा चल्ने समय पनि उल्लेखनीय रूपमा बढाउन सकिन्छ । त्यसैले यी उपायहरू अपनाएर आफ्नो ल्याप्टपलाई अझ प्रभावकारी र लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।
आईसीटी समाचार