कीवर्डहरू -

आईएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट’मा उत्कृष्ट अभिकर्ता पुरस्कृत

आईएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट’मा उत्कृष्ट अभिकर्ता पुरस्कृत

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गर्दै ‘आईएमई लाइफ बिजनेस एक्सिलेन्स अवार्ड नाइट २०२६’ सम्पन्न गरेको छ ।

कम्पनीका अनुसार गत शुक्रबार काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा देशभरबाट ३५० भन्दा बढी अभिकर्ताको सहभागिता रहेको थियो । अभिकर्ताहरूको उत्कृष्ट योगदानको कदर गर्नुका साथै उनीहरूलाई थप उत्साहित र उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सहभागीलाई स्वागत गर्दै अभिकर्ताहरूको मेहनत र प्रविधिको प्रभावकारी प्रयोगकै कारण कम्पनीले उल्लेखनीय प्रगति हासिल गरेको बताए । उनले आगामी दिनमा पनि अभिकर्ताको कामलाई थप सहज र प्रभावकारी बनाउन अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिइने उल्लेख गरे ।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले पछिल्ला आठ वर्षमा कम्पनीले उल्लेखनीय प्रगति गरेको भन्दै प्रविधिमैत्री सेवा विस्तारमार्फत आईएमई लाइफले बीमा क्षेत्रमा आफ्नो अलग पहिचान स्थापित गरिरहेको बताए ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा अभिकर्ताले केवल बीमा बिक्री गर्ने व्यक्ति नभई सक्षम बीमा परामर्शदाताका रूपमा आफूलाई विकास गर्नुपर्ने धारणा व्यक्त गरे । त्यसका लागि कम्पनीले निरन्तर तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिरहने उनले बताए ।

त्यसैगरी प्रमुख कार्यकारी अधिकृत पवन खड्काले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले हासिल गरेको व्यावसायिक सफलतामा अभिकर्ताहरूको योगदान निर्णायक रहेको उल्लेख गर्दै उनीहरूको पेशागत विकास र प्रोत्साहनका लागि कम्पनीले आगामी दिनमा पनि नयाँ योजना र प्रविधिमैत्री सेवाहरू अघि बढाउने बताए ।

कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने, सर्वाधिक बीमालेख जारी गर्ने तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

उत्कृष्ट अभिकर्ताहरूलाई आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल तथा कम्पनीका निर्देशक विनोद केसी, उषा ढकाल, सुनीलकुमार पोखरेल, सन्दीप अग्रवाललगायतले अवार्ड प्रदान गरेका थिए ।

कम्पनीले अभिकर्ताहरूको क्षमता अभिवृद्धि, व्यावसायिक दक्षता विकास र उत्कृष्ट कार्यसम्पादनलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।