काठमाडौं । युवामा उद्यमशीलता, नवप्रवर्तन र स्टार्टअप संस्कृतिको विकास गर्ने उद्देश्यसहित ‘नेपाल स्टार्टअप समिट २०२६’ औपचारिक रूपमा सुरु भएको छ । ‘स्टार्टअप्स: राष्ट्र निर्माणमा भूमिका’ भन्ने मूल नारासहित सुरु गरिएको अभियानले युवालाई वैदेशिक रोजगारीको विकल्प खोज्नुभन्दा स्वदेशमै उद्यम स्थापना गरी रोजगारी सिर्जना गर्न प्रेरित गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार विश्वका अमेरिका, चीन, इजरायल, सिङ्गापुर, दक्षिण कोरिया र भारतलगायत मुलुकले स्टार्टअप, नवप्रवर्तन र प्रविधिलाई आर्थिक समृद्धिको प्रमुख आधार बनाएका छन् । सोही अभ्यासलाई आत्मसात् गर्दै नेपालमा पनि युवाको सिर्जनशीलता, सीप र नवीन सोचलाई उद्यममा रूपान्तरण गर्ने उद्देश्यले समिटलाई देशव्यापी अभियानका रूपमा अघि बढाइएको हो ।
यसअघि सन् २०२५ मा ‘स्टार्टअपमा अवसर, चुनौती र अबको बाटो’ विषयक कार्यक्रम आयोजना गरिएको थियो । त्यहाँबाट प्राप्त सुझाव र अनुभवलाई आधार बनाएर यस वर्ष समिटलाई थप व्यापक बनाइएको आयोजकको भनाइ छ । अभियानको पहिलो चरण त्रिभुवन विश्वविद्यालयबाट सुरु गरिएको छ ।
आगामी दिनमा काठमाडौं विश्वविद्यालयसहित अन्य विश्वविद्यालय, विद्यालय र कलेजमा अभिमुखीकरण, अन्तरक्रिया, कार्यशाला तथा प्रेरणामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । साथै, समिटलाई सातै प्रदेशका शैक्षिक संस्थासम्म विस्तार गर्ने योजना रहेको छ ।
समिटअन्तर्गत सहभागी युवालाई व्यवसाय सुरु गर्ने प्रक्रिया, व्यवसाय योजना तयार गर्ने तरिका, लगानी जुटाउने उपाय, सरकारी तथा निजी क्षेत्रबाट उपलब्ध सहुलियतपूर्ण कर्जा र सहयोग कार्यक्रमको उपयोग, साथै उत्पादन तथा सेवालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने विषयमा व्यावहारिक ज्ञान प्रदान गरिनेछ ।
कार्यक्रममा नेपाल स्टार्टअप समिट २०२६ की अध्यक्ष शोभा ज्ञवालीले नेपालमा अवसरको अभाव नभई त्यसलाई पहिचान र उपयोग गर्ने सोचको कमी रहेको बताइन् । कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा, उत्पादन, सेवा र डिजिटल व्यवसायका क्षेत्रमा प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले युवाले रोजगारी खोज्ने मानसिकताभन्दा रोजगारी सिर्जना गर्ने उद्यमशील सोच विकास गर्नुपर्नेमा जोड दिइन् ।
उनले नेपाल राष्ट्र बैंक, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकलगायत संस्थाले स्टार्टअप तथा उद्यमशीलतालाई प्रोत्साहन गर्ने विभिन्न सहुलियतपूर्ण कर्जा र कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै ती अवसरको अधिकतम उपयोग गर्न युवालाई आग्रह गरिन् ।
कार्यक्रमका प्रमुख वक्ता तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निवर्तमान कार्यकारी निर्देशक इन्जिनियर उमेश गुप्ताले कम्पनी दर्तादेखि कानुनी प्रक्रिया, कर प्रणाली, बजार अध्ययन, लगानी व्यवस्थापन र व्यवसाय सञ्चालनका आधारभूत विषयमा प्रस्तुति दिएका थिए । उनले सफल स्टार्टअपका लागि ठूलो पूँजीभन्दा स्पष्ट लक्ष्य, प्रभावकारी योजना, निरन्तर मेहनत र समस्या समाधान गर्ने क्षमता बढी महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा सहभागी विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरूले नेपालमा उद्यमशीलता र नवप्रवर्तनको संस्कृति विकास गर्न यस्ता अभियान प्रभावकारी हुने धारणा राखे । उनीहरूले विद्यार्थीलाई सैद्धान्तिक शिक्षासँगै व्यवसाय, नेतृत्व विकास, नवप्रवर्तन र आत्मनिर्भर बन्ने व्यावहारिक सीप प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए ।
आयोजकका अनुसार आगामी चरणमा समिट सातै प्रदेशका विश्वविद्यालय, विद्यालय र कलेजसम्म विस्तार हुनेछ । प्रत्येक कार्यक्रममा सफल उद्यमी, उद्योगी, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, सरकारी निकाय र विषयविज्ञको सहभागितामार्फत युवालाई प्रत्यक्ष सिकाइ, मार्गदर्शन र नेटवर्किङको अवसर उपलब्ध गराइनेछ ।
नेपालबाट बढ्दो वैदेशिक पलायनलाई न्यूनीकरण गर्दै स्वदेशमै उद्यम स्थापना, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने दीर्घकालीन उद्देश्यसहित अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
आईसीटी समाचार