कीवर्डहरू -

फोल्डेबल आईफोनको युग सुरु गर्दै एप्पल, सेप्टेम्बरमा ‘आईफोन अल्ट्रा’ सार्वजनिक हुने

फोल्डेबल आईफोनको युग सुरु गर्दै एप्पल, सेप्टेम्बरमा ‘आईफोन अल्ट्रा’ सार्वजनिक हुने

काठमाडौं । एप्पलको पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन अल्ट्रा’ सार्वजनिक हुने चर्चा तीव्र बनेको छ । विभिन्न रिपोर्टका अनुसार कम्पनीले आगामी सेप्टेम्बरमा आफ्नो पहिलो फोल्डेबल आईफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । आधिकारिक पुष्टि भइनसके पनि यसले फोल्डेबल स्मार्टफोन बजारमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

विश्लेषकहरूका अनुसार एप्पलको प्रवेशसँगै विश्वव्यापी फोल्डेबल स्मार्टफोन बजारको आपूर्ति तथा बिक्रीमा करिब २० प्रतिशतसम्म वृद्धि हुन सक्छ । एप्पलले यस उपकरणमार्फत सामसुङ र गुगलजस्ता कम्पनीलाई प्रत्यक्ष चुनौती दिने तयारी गरिरहेको बताइएको छ । अन्य कम्पनीहरूले वर्षौंदेखि फोल्डेबल स्मार्टफोन बजारमा ल्याइरहेका बेला एप्पल भने लामो प्रतीक्षापछि यस क्षेत्रमा प्रवेश गर्न लागेको हो ।

यस्ता हुन सक्छन् विशेषता
जानकारीअनुसार ‘आईफोन अल्ट्रा’मा ७.८ इन्चको मुख्य डिस्प्ले र ५.५ इन्चको कभर डिस्प्ले रहने सम्भावना छ, जसले ट्याब्लेटजस्तै प्रयोग अनुभव प्रदान गर्नेछ । पूर्ण रूपमा खोलिएको अवस्थामा यसको मोटाइ करिब ४.५ मिलिमिटर मात्र हुने अनुमान गरिएको छ ।

एप्पलले डिस्प्लेमा फोल्ड गर्दा देखिने धर्सा न्यूनतम बनाउने प्रयास गरेको बताइएको छ । यसका लागि कम्पनीले पुन: डिजाइन गरिएको लिक्विडमेटल हिन्ज र अति पातलो ग्लास प्रयोग गर्ने सम्भावना रहेको विभिन्न रिपोर्टमा उल्लेख छ ।

शक्तिशाली चिप र एआई सुविधा
रिपोर्टहरूका अनुसार यो फोनमा ए२० प्रो चिपसेट प्रयोग हुन सक्छ, जुन टीएसएमसीको २ न्यानोमिटर प्रविधिमा आधारित हुनेछ । यही चिप आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्समा पनि प्रयोग हुने अपेक्षा गरिएको छ । यसले उच्च कार्यसम्पादनसँगै ऊर्जा दक्षता पनि प्रदान गर्नेछ ।

फोनमा १२ जीबी र्याम रहने सम्भावना छ । साथै, एप्पल इन्टेलिजेन्सका सबै एआई सुविधा र उन्नत सिरी समावेश हुने अपेक्षा गरिएको छ । यो उपकरण आईओएस २७ मा सञ्चालन हुने र उक्त अपरेटिङ सिस्टम फोल्डेबल आईफोनका लागि विशेष रूपमा अनुकूलित हुने बताइएको छ ।

क्यामेरा र सुरक्षा
क्यामेराको हिसाबले भने यो मोडल आईफोन १८ प्रो शृंखलाभन्दा केही पछाडि रहने अनुमान गरिएको छ । रिपोर्टअनुसार यसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा र ४८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा हुनेछ । दुवै डिस्प्लेमा छुट्टाछुट्टै सेल्फी क्यामेरा रहने अपेक्षा गरिएको छ । सुरक्षाका लागि एप्पलले यसमा फेस आईडीको सट्टा पावर बटनमै रहेको टच आईडी प्रयोग गर्न सक्ने चर्चा छ ।

ब्याट्री र मूल्य
फोनमा करिब ५,००० एमएएच क्षमताको ब्याट्री रहने र हाई-डेन्सिटी ब्याट्री प्रविधि प्रयोग गरिने सम्भावना रहेको बताइएको छ । एप्पलले हालसम्म यस फोल्डेबल आईफोनबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । त्यसैले यसको डिजाइन, स्पेसिफिकेसन र मूल्यबारेका सबै विवरण हाल चुहिएका जानकारी र विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टमा आधारित छन् ।

यद्यपि, विभिन्न रिपोर्टअनुसार ‘आईफोन अल्ट्रा’को प्रारम्भिक मूल्य करिब ३ लाख २० हजार नेपाली रुपैयाँ बराबर हुन सक्छ । यदि यो मूल्य कायम भयो भने, यो एप्पलको हालसम्मकै सबैभन्दा महँगो आईफोन हुनेछ । रिपोर्टहरूका अनुसार फोन सेप्टेम्बर ९ मा सार्वजनिक हुने र त्यसको करिब एक सातापछि बिक्री सुरु हुने अपेक्षा गरिएको छ ।

एप्पलको यो प्रवेशले फोल्डेबल स्मार्टफोन बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने विश्वास गरिएको छ । हाल यस बजारमा सामसुङ अग्रणी कम्पनी हो । प्रतिस्पर्धालाई ध्यानमा राख्दै सामसुङले हालै नयाँ डिजाइनसहितको ग्यालेक्सी जेड फोल्ड ८ सार्वजनिक गरिसकेको छ ।