कीवर्डहरू -

काठमाडौंमा क्याम्ब्रिज इङ्लिस लिडरसिप कन्फरेन्स, एआई युगमा विद्यार्थीको सञ्चार सीप विकासमा जोड

काठमाडौंमा क्याम्ब्रिज इङ्लिस लिडरसिप कन्फरेन्स, एआई युगमा विद्यार्थीको सञ्चार सीप विकासमा जोड

काठमाडौं । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एन्ड एसेसमेन्टले काठमाडौंमा ‘क्याम्ब्रिज इङ्लिस लिडरसिप कन्फरेन्स (CELC) २०२६’ आयोजना गरेको छ । सम्मेलनमा विद्यालयका प्रधानाध्यापक, विद्यालय नेतृत्वकर्ता तथा अंग्रेजी भाषा शिक्षकहरूको सहभागिता रहेको थियो ।

सम्मेलनमा कृत्रिम बौद्धिकता (एआई) को बढ्दो प्रयोग भइरहेको समयमा विद्यार्थीलाई भविष्यका लागि कसरी तयार गर्ने भन्ने विषयमा छलफल गरिएको थियो । विद्यार्थी केन्द्रित कक्षाकोठा, प्रभावकारी मूल्यांकन, तथ्यमा आधारित प्रतिक्रिया तथा सञ्चार सीपको बलियो आधारले विद्यार्थीलाई शैक्षिक तथा व्यावसायिक रूपमा सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नेमा सम्मेलनमा जोड दिइएको थियो ।

अंग्रेजी भाषा दक्षता रोजगारीका लागि महत्वपूर्ण सीपका रूपमा स्थापित हुँदै गएको अवस्थामा सम्मेलन आयोजना गरिएको हो । क्याम्ब्रिजको हालै करिब १ हजार ९ सय कलेज विद्यार्थीमा गरिएको सर्वेक्षणअनुसार करिब १०० प्रतिशत विद्यार्थीले राम्रो रोजगारी प्राप्त गर्न अंग्रेजी महत्वपूर्ण रहेको बताएका छन् ।

त्यस्तै, ३० प्रतिशत विद्यार्थीले अंग्रेजी भाषा सीप र आत्मविश्वासको कमीलाई रोजगारी प्राप्त गर्ने प्रमुख चुनौतीका रूपमा पहिचान गरेका छन् । ५७ प्रतिशत विद्यार्थीले रोजगारीका लागि आफू पूर्ण रूपमा तयार नभएको बताएका छन् ।

सर्वेक्षणअनुसार विद्यार्थीहरूले आफ्नो सीप विकासका लागि प्राविधिक तथा उद्योगसम्बन्धी प्रमाणपत्र, इन्टर्नसिप वा वास्तविक परियोजना तथा अंग्रेजी भाषा प्रमाणपत्रलाई प्राथमिकता दिने गरेका छन् ।

यसैबीच, क्याम्ब्रिज युनिभर्सिटी र ब्रिटिस काउन्सिलको अध्ययनले बहुभाषिक शिक्षण पद्धतिले अंग्रेजी सिकाइलाई थप प्रभावकारी बनाउन सक्ने देखाएको छ । सन् २०२६ को ‘MultiEd Study’ अन्तर्गत गरिएको अनुसन्धानले विद्यार्थीको मातृभाषा तथा क्षेत्रीय भाषालाई अंग्रेजीसँग रणनीतिक रूपमा प्रयोग गर्दा पढ्ने क्षमता, कक्षाकोठामा सहभागिता र विद्यार्थीको आत्मविश्वासमा सुधार आउने देखाएको छ ।

अध्ययनले यस्तो अभ्यासले अंग्रेजी सिकाइमा नकारात्मक असर नपार्ने पनि देखाएको छ । नेपालका धेरै विद्यार्थी उच्च शिक्षा तथा रोजगारीका लागि विदेश जाने क्रम बढिरहेका बेला सञ्चार सीपको महत्व झनै बढेको सम्मेलनमा सहभागीहरूले बताएका छन् । सञ्चार सीप अब शैक्षिक आवश्यकतामा मात्र सीमित नभई विदेशमा अध्ययन, रोजगारी र करियर विकासका लागि महत्वपूर्ण आधार बन्दै गएको उनीहरूको भनाइ थियो ।

क्याम्ब्रिज युनिभर्सिटी प्रेस एन्ड एसेसमेन्टका दक्षिण एसियाका प्रबन्ध निर्देशक अरुण राजामणिले एआई दैनिक सिकाइको हिस्सा बन्दै जाँदा प्रभावकारी रूपमा सञ्चार गर्ने, विश्लेषण गर्ने र आलोचनात्मक रूपमा सोच्ने क्षमता झनै महत्वपूर्ण हुँदै गएको बताए ।

“यी सीपहरू विद्यालय शिक्षाकै क्रममा क्रमश: विकास हुन्छन् र सुन्ने, बोल्ने, पढ्ने तथा लेख्ने आधारभूत सीपमा आधारित हुन्छन्,” उनले भने । उनका अनुसार विद्यार्थीहरूले भविष्यको रोजगारीका लागि अंग्रेजीको महत्व बुझे पनि धेरै विद्यार्थी अझै आत्मविश्वास र सञ्चार सीपमा चुनौती सामना गरिरहेका छन् ।

दक्षिण एसियाका लागि अंग्रेजीका कन्ट्री हेड अरुणाचलम टीकेले पनि दक्षिण एसियामा अन्तर्राष्ट्रिय स्तरमा मापन गर्न सकिने भाषा दक्षताको माग बढिरहेको बताए । विद्यार्थीले वास्तविक जीवनमा आत्मविश्वासका साथ अंग्रेजी प्रयोग गर्न सक्ने सञ्चार सीप विकासमा विद्यालयहरूले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

सम्मेलनमा सहभागी शिक्षक तथा विद्यालय नेतृत्वकर्ताहरूले सञ्चार सीप विद्यार्थीको विद्यालय जीवनभर विकास हुने र यसले शैक्षिक सफलता, आत्मविश्वास, आलोचनात्मक सोच तथा सहकार्यमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । 

विद्यार्थीलाई अंग्रेजी भाषा प्रयोगका लागि पर्याप्त अवसर उपलब्ध गराउनुपर्नेमा पनि उनीहरूले जोड दिएका थिए । कक्षा कोठामा छलफल, परियोजना, प्रस्तुति तथा अतिरिक्त क्रियाकलापमार्फत अंग्रेजीको प्रयोग बढाउँदा विद्यार्थीको भाषा प्रवाह र वास्तविक जीवनमा सञ्चार गर्ने क्षमता विकास गर्न सकिने सहभागीहरूको भनाइ थियो ।

एआईको शिक्षा तथा रोजगारी क्षेत्रमा प्रयोग बढ्दै जाँदा विद्यार्थीका लागि सूचना प्राप्त गर्ने क्षमता मात्र पर्याप्त नहुने विषयमा पनि सम्मेलनमा छलफल भएको थियो । विचारको मूल्यांकन गर्ने, सही प्रश्न सोध्ने, प्रभावकारी रूपमा सहकार्य गर्ने र आत्मविश्वासका साथ सञ्चार गर्ने क्षमता पनि उत्तिकै महत्वपूर्ण रहेको सहभागीहरूले बताएका थिए ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार अंग्रेजी भाषा दक्षता मापन गर्ने विषयमा पनि सम्मेलनमा छलफल गरिएको थियो । प्रभावकारी मूल्यांकन प्रणालीले विद्यार्थीको प्रगति बुझ्न र सुधार आवश्यक पर्ने क्षेत्रमा लक्षित सहयोग गर्न विद्यालयलाई मद्दत गर्ने सहभागीहरूको भनाइ थियो ।

Common European Framework of Reference for Languages (CEFR) सँग आबद्ध Cambridge English Qualifications ले विद्यार्थीको अंग्रेजी भाषा विकास मापनका लागि अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्ड उपलब्ध गराउँदै आएको छ । यसले Listening, Speaking, Reading र Writing सीपको मूल्यांकन गर्ने जनाइएको छ ।