कीवर्डहरू -

फोनपे क्रेडिट कार्डका प्रयोगकर्ता दुई वर्षमै ५० हजार नाघे, पहुँच थप विस्तार गर्ने लक्ष्य

फोनपे क्रेडिट कार्डका प्रयोगकर्ता दुई वर्षमै ५० हजार नाघे, पहुँच थप विस्तार गर्ने लक्ष्य

काठमाडौं । फोनपे क्रेडिट कार्डका प्रयोगकर्ता सञ्चालनमा आएको दुई वर्षमै ५० हजार नाघेका छन् । फोनपेले आफ्नो भर्चुअल क्रेडिट कार्ड सेवा सुरु भएको केही समयमै ५० हजार प्रयोगकर्ता पुगेको जनाएको हो । कम्पनीका अनुसार यो उपलब्धिले नेपालमा डिजिटल क्रेडिटप्रति उपभोक्ताको बढ्दो विश्वास तथा सहज, पहुँचयोग्य र प्रविधिमैत्री कर्जा सेवाको माग बढ्दै गएको देखाएको छ ।

फोनपे क्रेडिट कार्ड सहभागी बैंकका मोबाइल बैंकिङ एपमा प्रत्यक्ष रूपमा एकीकृत गरिएको भर्चुअल क्रेडिट कार्ड हो । ग्राहकले सिटिजन्स बैंक इन्टरनेसनल, कुमारी बैंक, लक्ष्मी सन्राइज बैंक, सिद्धार्थ बैंक, एभरेस्ट बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र मञ्जुश्री फाइनान्सका मोबाइल बैंकिङ एपमार्फत आवेदन, कार्ड प्राप्ति तथा सक्रिय गर्न सक्ने कम्पनीले जनाएको छ ।

फोनपेका अनुसार कार्डमार्फत देशभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टमा स्क्यान गरी भुक्तानी गर्न सकिन्छ । यसले परम्परागत क्रेडिट सेवाको तुलनामा डिजिटल माध्यमबाट कर्जा सुविधा लिन थप सहज बनाएको कम्पनीको दाबी छ ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले परम्परागत क्रेडिट कार्डको करिब ३६ वर्षको इतिहासमा नेपालमा यसको संख्या तीन लाखभन्दा केही बढी रहेको उल्लेख गर्दै फोनपे क्रेडिट कार्डले दुई वर्षमै ५० हजार प्रयोगकर्ता पार गर्नु महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

उनका अनुसार यो संख्या मात्रको उपलब्धि नभई क्रेडिट सेवाको पहुँचलाई थप समावेशी र सहज बनाउने दिशामा भएको प्रगति हो । डिजिटल माध्यमबाट क्रेडिट कार्ड प्राप्त गर्ने र प्रयोग गर्ने प्रक्रियालाई सहज बनाउने उद्देश्यले सेवा विस्तार गरिएको उनले बताए ।

कम्पनीले फोनपे क्रेडिट कार्डले नेपालमा एम्बेडेड फाइनान्सको विस्तारमा समेत योगदान पुर्‍याइरहेको जनाएको छ । ग्राहकको बैंकिङ प्लेटफर्ममै क्रेडिट सुविधा उपलब्ध गराउँदा कागजरहित तथा डिजिटल वित्तीय सेवा प्रयोग गर्ने प्रवृत्ति बढ्न सहयोग पुगेको कम्पनीको भनाइ छ ।

फोनपेले आगामी दिनमा साझेदार बैंकसँगको सहकार्य विस्तार गर्दै उत्पादन तथा ग्राहक अनुभवमा सुधार गर्ने जनाएको छ । कम्पनीले डिजिटल क्रेडिटको पहुँच थप नेपालीसम्म विस्तार गर्ने लक्ष्यसमेत लिएको छ ।