कीवर्डहरू -

नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण, बुकिङ पनि उच्च

नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण, बुकिङ पनि उच्च

काठमाडौं । भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको उत्साहजनक सहभागिता देखिएको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पोको दोस्रो दिन पनि मेलास्थल दर्शकले भरिभराउ बनेको छ ।

एक्स्पोमा पुगेका अवलोकनकर्ताले आफूलाई मनपरेका कार तथा मोटरसाइकलको अवलोकन मात्र नभई बुकिङसमेत गरिरहेका छन् । सहभागी कम्पनीहरूका अनुसार महँगा र किफायती दुवै मूल्यका विद्युतीय सवारी साधनप्रति ग्राहकको समान आकर्षण देखिएको छ ।

काठमाडौंको डिल्लीबजारबाट एक्स्पो अवलोकन गर्न पुगेका दिनेश महर्जनले नाइमा एक्स्पो आफूअनुकूल गाडी छनोट गर्ने उत्कृष्ट अवसर भएको बताए । उनले एक्स्पोको अवसर पारेर गाडी खरिद गर्ने योजना बनाएको उल्लेख गर्दै विभिन्न ब्रान्डका आकर्षक मूल्य र विशेषतायुक्त गाडीमध्ये छनोट गर्न निकै कठिन भइरहेको प्रतिक्रिया दिए । बिहान साढे ११ बजेदेखि दिउँसो ३ बजेसम्म उनले करिब १८–२० वटा गाडी अवलोकन गरिसकेको बताए ।

मेलास्थलमा ठूलो संख्यामा पुगेका अवलोकनकर्ताले विभिन्न ब्रान्डका गाडी चढेर परीक्षण गर्नुका साथै तिनका सुविधा र विशेषताबारे जानकारी लिइरहेका छन् । विशेषगरी ब्याट्री क्षमता, मोटर, ड्राइभिङ रेन्ज, चार्जिङ सुविधा तथा आफ्टर–सेल्स सेवाप्रति ग्राहकको बढी चासो देखिएको आयोजकले जनाएको छ ।

ग्राहक आकर्षित गर्न सहभागी कम्पनीहरूले विभिन्न आकर्षक योजना सार्वजनिक गरेका छन् । मूल्यमा विशेष छुट, एक वर्षको निःशुल्क बिमा, एक वर्षको सवारी कर, निःशुल्क सर्भिसिङ तथा सहुलियत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराइएको छ ।

दोस्रो दिन विभिन्न ब्रान्डका थप चार नयाँ मोडल सार्वजनिक गरिएका छन् । उद्घाटनको दिन मंगलबार मात्रै ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक भएका थिए । दोस्रो दिन २६ हजारभन्दा बढीले एक्स्पोको अवलोकन गरेका छन् भने उद्घाटनको दिन २९ हजारभन्दा बढी दर्शक पुगेका थिए । यससँगै दुई दिनमै करिब ५५ हजार जनाले एक्स्पो अवलोकन गरिसकेका छन् । आयोजकले मेलाभरि करिब डेढ लाख दर्शक पुग्ने अपेक्षा गरेको छ ।

एक्स्पोअन्तर्गत बुधबार आयोजित ‘मोबिलिटी : हिजो, आज र भोलि’ विषयक ‘लर्निङ सेसन’मा प्रतिनिधिसभा सदस्य तथा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेशप्रसाद काफ्ले, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, पूर्वाधार विकास मन्त्रालयका विज्ञ सल्लाहकार एवं ट्राफिक तथा यातायात इन्जिनियर अनुकूल निधि तथा नाडा अटोमोबाइल एसोसिएसनका पूर्वअध्यक्ष ध्रुवबहादुर थापा सहभागी थिए । कार्यक्रमको सहजीकरण पत्रकार टिकाराम यात्रीले गरेका थिए ।

उक्त संवाद कार्यक्रममा पनि ३०० भन्दा बढीको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ । एक्स्पोको पहिलो दिन ‘Investment and Foreign Direct Investment (FDI): Mobilizing Fuel for Economic Growth’ विषयमा छलफल गरिएको थियो । एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा ‘नाइमा मोबिलिटी संवाद’ सञ्चालन हुने आयोजकले जनाएको छ ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारी निर्माता तथा आयातकर्ताको उल्लेखनीय सहभागिता रहेको छ । नेपालमा पहिलोपटक भित्रिएका ब्रान्डसहित नयाँ मोडलका विद्युतीय कार, ई-स्कुटर तथा विद्युतीय व्यावसायिक सवारी साधन यस पटकका मुख्य आकर्षण बनेका छन् ।

एक्स्पोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियतपूर्ण कर्जा सुविधा पनि उपलब्ध गराइरहेका छन् । एक्स्पोको को–स्पोन्सर ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ भने पावर्ड बाइ साझेदारका रूपमा रेडबुल रहेको छ । बैंकिङ पार्टनर एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड, इन्स्योरेन्स पार्टनर सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।

त्यसैगरी टेक्नोलोजी पार्टनर बोस (BOSCH), एजुकेसन पार्टनर ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ पार्टनर अग्नि इनर्जी प्रालि र अजायल इन्जिनियरिङ सोलुसन्स प्रालि, राइड पार्टनर पठाओ नेपाल प्रालि, हाइड्रेसन पार्टनर अक्वा मिनरल्स (अक्वा हन्ड्रेड) प्रालि, हस्पिटालिटी पार्टनर द सोल्टी काठमाडौं, मेडिकल पार्टनर ग्रान्डी इन्टरनेसनल हस्पिटल, सर्भिलियन्स पार्टनर भत्सल इम्पेक्स प्रालि (हिकभिजन) तथा फायर एन्ड सेफ्टी पार्टनर हिट्को प्रालि रहेका छन् ।

यस्तै, को-टिकेटिङ पार्टनर आइएमई खल्ती लिमिटेड, क्यूआर पार्टनर युनियन पे, अडियो भिजुअल पार्टनर पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क प्रालि, डिजिटल पार्टनर डिजिपल सोलुसन्स प्रालि, भेहिकल सेफ्टी पार्टनर एटीएस नेपाल, म्यानेजमेन्ट पार्टनर मिडिया स्पेस सोलुसन्स प्रालि, कनेक्टिभिटी पार्टनर वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड तथा पब्लिकेसन पार्टनर प्रफिट मिडिया प्रालि रहेका छन् ।