कीवर्डहरू -

फेसबुकले ल्यायो एआईसहितको ‘क्रिएटर स्टुडियो’ एप, क्रिएटरलाई मिल्नेछन् यस्ता सुविधा

फेसबुकले ल्यायो एआईसहितको ‘क्रिएटर स्टुडियो’ एप, क्रिएटरलाई मिल्नेछन् यस्ता सुविधा

काठमाडौं । फेसबुकले कन्टेन्ट क्रिएटरका लागि एआईमा आधारित नयाँ ‘क्रिएटर स्टुडियो’ एप सार्वजनिक गरेको छ । छुट्टै स्ट्यान्डअलोन एपका रूपमा ल्याइएको यसमा क्रिएटरलाई सामग्री व्यवस्थापन, दर्शकसँगको अन्तरक्रिया र कन्टेन्टको प्रदर्शन सुधार गर्न विभिन्न एआई सुविधा समावेश गरिएको छ ।

नयाँ एपले क्रिएटरको सामग्रीको शैली, प्रदर्शन, दर्शकको सहभागिता तथा लक्ष्यका आधारमा व्यक्तिगत सुझाव दिनेछ । साथै, दर्शकको रुचिअनुसार सामग्री सुधार गर्न र समुदायसँग अझ प्रभावकारी रूपमा जोडिन आवश्यक उपकरण समेत उपलब्ध गराइनेछ ।

एपमा रहेको एआई क्रिएटर असिस्टेन्टले कन्टेन्टको प्रदर्शनबारे बुझ्न क्रिएटरलाई सहयोग गर्नेछ । जटिल चार्ट वा ड्यासबोर्ड हेर्नुपर्ने झन्झट कम गर्दै यसले सामाग्रीको प्रदर्शनसँग सम्बन्धित प्रश्नको सहज रूपमा जवाफ दिनेछ ।

क्रिएटरले कुन समयमा पोस्ट गर्दा राम्रो प्रभाव पर्न सक्छ, पछिल्लो सामाग्रीमा दर्शकको प्रतिक्रिया कस्तो छ वा आफ्नो सामाग्रीले कस्तो प्रदर्शन गरिरहेको छ भन्नेजस्ता विषयमा एआईसँग सोध्न सक्नेछन् । आवश्यकताअनुसार थप प्रश्नसमेत गर्न सकिनेछ ।

कमेन्टको जवाफ दिन पनि एआईको सहयोग
क्रिएटर स्टुडियोमा एआई कमेन्ट टुल समेत राखिएको छ । यसले महत्वपूर्ण कमेन्ट पहिचान गरी क्रिएटरको शैली र भाषासँग मिल्ने गरी जवाफको ड्राफ्ट तयार गर्नेछ । यद्यपि, एआईले तयार पारेको जवाफ स्वत: पोस्ट हुने छैन । क्रिएटरले आवश्यकताअनुसार जवाफ सम्पादन गरेर स्वीकृत गरेपछि मात्र पोस्ट गर्न सक्नेछन् ।

एपले क्रिएटरलाई दैनिक रूपमा गर्नुपर्ने महत्वपूर्ण कामको सूचीसमेत देखाउनेछ । यसमा पछिल्लो पोस्टको प्रदर्शन समीक्षा गर्ने, आफ्नो लक्ष्यतर्फको प्रगति हेर्ने तथा जवाफ दिनुपर्ने महत्वपूर्ण कमेन्ट पहिचान गर्नेजस्ता काम समावेश हुनेछन् ।

फेसबुकले टिकटक र युट्युबजस्ता प्रतिस्पर्धी प्लेटफर्मसँग प्रतिस्पर्धा गर्दै आफ्नो प्लेटफर्ममा क्रिएटरको सक्रियता बढाउने उद्देश्यले नयाँ एप ल्याएको हो । हाल ‘क्रिएटर स्टुडियो’ अमेरिका र क्यानडामा iOS प्रयोगकर्ताका लागि मात्र उपलब्ध रहेको छ । अन्य देश र प्लेटफर्मका प्रयोगकर्ताका लागि कहिलेदेखि उपलब्ध हुन्छ भन्नेबारे भने स्पष्ट जानकारी दिइएको छैन ।