कीवर्डहरू -

बेटिङदेखि अश्लील सामाग्रीसम्म : गैरकानुनी साइट रोक्न प्राधिकरणको निर्देशन

बेटिङदेखि अश्लील सामाग्रीसम्म : गैरकानुनी साइट रोक्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा प्रतिबन्धित अनलाइन प्लेटफर्ममाथि पहुँच रोक्न इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई फेरि कडाइका साथ निर्देशन दिएको छ ।

प्राधिकरणले शनिबार सार्वजनिक गरेको सूचनामार्फत अनलाइन बेटिङ, क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, बालयौनजन्य सामाग्री तथा अश्लील सामाग्री प्रसारण वा पहुँच हुने वेबसाइट तथा एप बन्द गर्न सेवा प्रदायकलाई निर्देशन दिएको हो ।

नेपालको प्रचलित कानुनले यस्ता गतिविधिलाई गैरकानुनी मानेको उल्लेख गर्दै प्राधिकरणले त्यस्ता वेबसाइट तथा एप नेपालभित्र सञ्चालन तथा प्रयोग हुन नसक्ने गरी आवश्यक व्यवस्था मिलाउन भनेको छ ।

विशेष गरी अनलाइन जुवाका प्लेटफर्ममार्फत हुने आर्थिक कारोबार तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्न प्राधिकरणले सेवा प्रदायकलाई निगरानी र पहुँच रोक्ने व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

निर्देशन अटेर गरे कारबाही
प्राधिकरणले आफ्ना निर्देशन कार्यान्वयन नगर्ने दूरसञ्चार सेवा प्रदायकमाथि कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । सूचनामा निर्देशन पालना नगर्ने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ तथा प्रचलित कानुनबमोजिम कारबाही हुने स्पष्ट पारिएको छ ।

प्राधिकरणले यसअघि पनि विभिन्न समयमा यस्ता गैरकानुनी वेबसाइट तथा एपमा पहुँच रोक्न सेवा प्रदायकलाई निर्देशन दिँदै आएको थियो । तर प्रतिबन्धित सामाग्री तथा प्लेटफर्ममा अझै पहुँच कायम रहेको पाइएपछि नियामक निकायले पुन: ताकेता गरेको हो ।