काठमाडौं । तपाईं सेयर कारोबार गर्नुहुन्छ र नियमित रूपमा आईपीओ भर्नुहुन्छ भने सीआरएन (CRN) नम्बरका बारेमा पक्कै जानकार हुनुहुन्छ । सीआरएन अर्थात् Customer Relationship Number हो । आईपीओ भर्नका लागि यो नम्बर आवश्यक पर्छ ।
तपाईंले मेरो सेयर खाता खोल्ने क्रममा सम्बन्धित बैंकबाट सीआरएन नम्बर प्राप्त गर्नुभएको हुन्छ । तर आईपीओ नियमित रूपमा नआउने भएकाले लामो समयपछि आवेदन दिँदा धेरैले आफ्नो सीआरएन नम्बर बिर्सने गरेका छन् ।
सीआरएन नम्बर बिर्सिएको अवस्थामा त्यसका लागि बैंकमै धाउनुपर्ने आवश्यकता छैन । केही चरण पूरा गरेर मेरो सेयरको वेबसाइटबाटै आफ्नो सीआरएन नम्बर पत्ता लगाउन सकिन्छ ।
केही बैंकले ग्राहकको बैंक खाता नम्बरलाई नै सीआरएन नम्बरका रूपमा प्रयोग गरेका हुन्छन् । उदाहरणका लागि, नबिल बैंकले बैंक खाता नम्बरलाई नै सीआरएन नम्बरका रूपमा प्रयोग गर्ने गरेको छ । तर कतिपय बैंकले भने अक्षर र अंकसहितको छुट्टै सीआरएन नम्बर उपलब्ध गराउँछन् ।
मेरो सेयरबाट सीआरएन नम्बर पत्ता लगाउने तरिका यसप्रकार छ:
१. मेरो सेयरमा लगइन गर्नुहोस्
सबैभन्दा पहिले मेरो सेयरको वेबसाइटमा आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी लगइन गर्नुहोस् । त्यसपछि ड्यासबोर्डमा जानुहोस् ।
२. ‘My Bank Request’ मा जानुहोस्
ड्यासबोर्डको बायाँतर्फ देखिने विभिन्न विकल्पमध्ये ‘My Bank Request’ मा क्लिक गर्नुहोस् ।
३. ‘Inspect’ विकल्प खोल्नुहोस्
पेजमा माउसको दायाँ बटन क्लिक गर्दा विभिन्न विकल्प देखिन्छन् । त्यसमध्ये तलतिर रहेको ‘Inspect’ विकल्पमा क्लिक गर्नुहोस् ।
४. ‘Network’ मा जानुहोस्
‘Inspect’ खुलेपछि माथिल्लो भागमा Elements, Console, Sources, Network लगायतका विकल्प देखिन्छन् । त्यसमध्ये ‘Network’ मा क्लिक गर्नुहोस् ।
५. ‘XHR’ विकल्प छनोट गर्नुहोस्
‘Network’ मा गएपछि All, Fetch/XHR लगायत विभिन्न विकल्प देखिन सक्छन् । त्यसमध्ये ‘XHR’ विकल्पमा क्लिक गर्नुहोस् ।
६. मेरो सेयरको पेज रिफ्रेस गर्नुहोस्
अब मेरो सेयरको वेबसाइटलाई एकपटक रिफ्रेस गर्नुहोस् । रिफ्रेस गरेपछि विभिन्न नम्बर तथा रिक्वेस्टहरू देखिन थाल्छन् ।
यी नम्बर बैंकअनुसार फरक फरक हुन सक्छन् । उदाहरणका लागि, एनआईसी एसिया बैंकका लागि २३०१, वाणिज्य बैंकका लागि २०१ वा अन्य बैंकका लागि फरक नम्बर देखिन सक्छन् । एउटै नम्बर दोहोरिएर देखिन पनि सक्छ ।
७. सम्बन्धित रिक्वेस्टमा क्लिक गर्नुहोस्
देखिएका नम्बर वा रिक्वेस्टमध्ये एक एक गरी क्लिक गरेर विवरण जाँच गर्न सकिन्छ । आफ्नो बैंकसँग सम्बन्धित रिक्वेस्ट पहिचान गरेपछि त्यसमा क्लिक गर्नुहोस् ।
८. सीआरएन नम्बर पहिचान गर्नुहोस्
रिक्वेस्टमा क्लिक गरेपछि दायाँतर्फ विभिन्न विवरण देखिन्छन् । त्यहाँ बैंक खाता, ग्राहकको नामलगायतका व्यक्तिगत विवरण देखिन सक्छन् । ती विवरणमध्ये CRN Number पनि उल्लेख गरिएको हुन्छ । त्यहाँ देखिएको आफ्नो सीआरएन नम्बर नोट गर्नुहोस् । नम्बर टिपिसकेपछि Inspect विन्डो बन्द गर्न सकिन्छ ।
व्यक्तिगत विवरणको सुरक्षामा ध्यान दिनुहोस्
यो प्रक्रिया गर्दा व्यक्तिगत तथा बैंकिङ विवरण स्क्रिनमा देखिन सक्ने भएकाले सार्वजनिक कम्प्युटर वा अरू व्यक्तिको डिभाइस प्रयोग नगर्नुहोस् । आफ्नो सीआरएन, बैंक खाता नम्बर तथा अन्य संवेदनशील विवरण अनावश्यक रूपमा अरूसँग साझा नगर्नुहोस् । यसरी बैंकमा सम्पर्क नगरी केही चरणमै मेरो सेयरबाट आफ्नो सीआरएन नम्बर पत्ता लगाउन सकिन्छ ।
आईसीटी समाचार