काठमाडौं । सूचना प्रविधि (आईटी), इन्जिनियरिङ र व्यवस्थापन क्षेत्रका दक्ष जनशक्तिको माग तीव्र रूपमा बढिरहेको वर्तमान समयमा गुणस्तरीय, व्यावहारिक र उद्योगमुखी उच्च शिक्षाको आवश्यकता पनि उत्तिकै बढेको छ। यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यसहित सन् २००० मा स्थापना भएको कलेज अफ इन्फरमेसन टेक्नोलोजी एण्ड इञ्जिनियरिङ (सीआईटीई) ले दुई दशकभन्दा लामो समयदेखि सूचना प्रविधि, इन्जिनियरिङ र व्यवस्थापन शिक्षालाई केन्द्रमा राखेर आफ्नो शैक्षिक यात्रा अघि बढाउँदै आएको छ। कलेजको आधिकारिक वेबसाइटले पनि सीआईटीईलाई आईटी, इन्जिनियरिङ र व्यवस्थापन शिक्षामा केन्द्रित उच्च शिक्षाको संस्थाका रूपमा प्रस्तुत गरेको छ।
नेपालमा मात्र नभई विदेशमा समेत आईटी, इन्जिनियरिङ र व्यवस्थापन क्षेत्रका दक्ष जनशक्तिको अभाव रहेको अवस्थामा त्यसलाई पूर्ति गर्ने उद्देश्यले सीआईटीई स्थापना गरिएको हो। कलेजले विद्यार्थीको सिकाइ अनुभवलाई प्राथमिकतामा राख्दै उच्च व्यावसायिक मापदण्ड, गुणस्तर, अनुशासन र नैतिकतालाई शिक्षाको अभिन्न पक्षका रूपमा अघि सारेको छ। यसको मूल उद्देश्य विद्यार्थीलाई बदलिँदो विश्व र तीव्र गतिमा विस्तार भइरहेको बहुआयामिक उद्योग तथा अर्थतन्त्रमा सफल हुन आवश्यक बौद्धिक क्षमता, प्राविधिक ज्ञान र व्यावहारिक सीप प्रदान गर्नु हो।
सीआईटीईको शैक्षिक अवधारणामा कक्षाकोठामा सीमित सैद्धान्तिक ज्ञानभन्दा बाहिर गएर विद्यार्थीलाई नयाँ सीप, उदाउँदा सिद्धान्त, प्रविधिका नयाँ विकास र वास्तविक कार्यक्षेत्रसँग परिचित गराउने प्रयास देखिन्छ। कलेजमा कार्यरत शिक्षक तथा प्राध्यापकहरू सम्बन्धित क्षेत्रमा व्यावहारिक अनुभव भएका दक्ष जनशक्ति रहेको र उनीहरूले विद्यार्थीलाई व्यक्तिगत मार्गदर्शन तथा मेन्टरिङ प्रदान गर्ने कलेजको दाबी छ।

आईटीदेखि व्यवस्थापनसम्मको बहुआयामिक अध्ययन
सीआईटीईमा सूचना प्रविधि र कम्प्युटर शिक्षासँगै इन्जिनियरिङ र व्यवस्थापनलाई पनि समान महत्त्व दिइएको छ। कलेजले ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए), ब्याचलर अफ कम्प्युटर इञ्जिनियरिङ (बीसीई), ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी (बीआईटी) तथा मास्टर अफ इन्फरमेसन टेक्नोलोजी (एमआईटी) जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।
चारवर्षे बीबीए कार्यक्रमले अर्थशास्त्र, लेखा, मार्केटिङ, मानव संसाधन तथा अपरेसन म्यानेजमेन्टजस्ता विषयमार्फत विद्यार्थीलाई व्यवस्थापन क्षेत्रका लागि तयार गर्छ। बीसीए कार्यक्रमले प्रोग्रामिङ, डाटा स्ट्रक्चर, एल्गोरिदम, सफ्टवेयर इञ्जिनियरिङ, वेब तथा मोबाइल एप्लिकेसन विकास र डाटाबेस व्यवस्थापनमा आधार निर्माण गर्छ।
त्यस्तै, बीसीई कार्यक्रममार्फत कम्प्युटर हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, डिजिटल इलेक्ट्रोनिक्स, अपरेटिङ सिस्टम र कम्प्युटर नेटवर्कजस्ता विषयमा अध्ययन गराइन्छ। बीआईटी कार्यक्रमले सफ्टवेयर विकास, वेब एप्लिकेसन, डाटाबेस व्यवस्थापन, प्रोग्रामिङ, सफ्टवेयर इञ्जिनियरिङ र कम्प्युटर नेटवर्कजस्ता क्षेत्रमा विद्यार्थीको आधार बलियो बनाउने लक्ष्य राखेको छ।
उच्च अध्ययन गर्न चाहने विद्यार्थीका लागि एमआईटी कार्यक्रम पनि सीआईटीईको महत्वपूर्ण शैक्षिक विकल्प हो। दुईवर्षे यस कार्यक्रममा सफ्टवेयर इञ्जिनियरिङ, डाटाबेस व्यवस्थापन, नेटवर्किङ, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङजस्ता विषय समेटिएका छन्। यसले विद्यार्थीलाई सफ्टवेयर विकास, आईटी कन्सल्टिङ, प्रोजेक्ट म्यानेजमेन्ट तथा आईटी अनुसन्धानजस्ता क्षेत्रमा अघि बढ्न आधार प्रदान गर्ने उद्देश्य राख्छ।
कक्षाकोठाबाट प्रयोगशालासम्म
सीआईटीईको अर्को विशेषता भनेको शैक्षिक सिद्धान्तसँग व्यावहारिक अभ्यासलाई जोड्ने प्रयास हो। कलेजमा आधुनिक प्रविधियुक्त कक्षाकोठा, पुस्तकालय, कम्प्युटर ल्याब तथा प्रयोगात्मक कार्यका लागि आवश्यक स्रोत र सुविधा उपलब्ध रहेको जानकारी दिइएको छ। विद्यार्थीलाई समूह छलफल, प्रस्तुतीकरण, असाइनमेन्ट तथा विभिन्न प्रोजेक्टमार्फत सिकाइ प्रक्रियामा सक्रिय सहभागी गराउने अभ्यास पनि कलेजले अपनाएको छ।
कलेजमा आईटी क्लब, रोबोटिक्स क्लब तथा म्यानेजमेन्ट सर्कलजस्ता विद्यार्थी केन्द्रित गतिविधि सञ्चालन हुन्छन्। यस्ता गतिविधिले कक्षाकोठाको औपचारिक अध्ययनसँगै नेतृत्व, सञ्चार, सिर्जनात्मकता र टिमवर्कजस्ता सफ्ट स्किल विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। वेब डिजाइन, ग्राफिक डिजाइन र बिजनेस प्रपोजलसम्बन्धी प्रतियोगिता, शैक्षिक भ्रमण, फिल्ड भिजिट, सेमिनार तथा गेस्ट लेक्चर पनि सीआईटीईको शैक्षिक गतिविधिको हिस्सा हुन्।
कलेजले विद्यार्थीलाई अध्ययनसँगै व्यावसायिक संसारसँग जोड्ने प्रयास पनि गरेको छ। इन्टर्नसिप तथा पार्टटाइम जबका अवसरमार्फत ‘अर्निङ ह्वाइल लर्निङ’ अर्थात् पढ्दै कमाउने अवधारणालाई प्रवर्द्धन गर्ने, करियर काउन्सेलिङ उपलब्ध गराउने तथा उद्योग र व्यावसायिक संस्थासँग सहकार्य गर्ने अभ्यासलाई पनि महत्त्व दिइएको छ।
उद्योगमुखी शिक्षामा जोड
आजको आईटी बजारमा केवल डिग्री हासिल गर्नु मात्र पर्याप्त छैन। प्रविधि निरन्तर परिवर्तन भइरहेकाले विद्यार्थीले नयाँ प्रविधि सिक्न, समस्याको विश्लेषण गर्न र वास्तविक परिस्थितिमा समाधान खोज्न सक्ने क्षमता विकास गर्नुपर्ने हुन्छ। सीआईटीईले आफ्नो पाठ्यक्रम र सिकाइ वातावरणमार्फत यही आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको छ।
कलेजका अनुसार सूचना प्रविधि, कम्प्युटर प्रविधि, टेलिकम्युनिकेसन र मल्टिमिडियाको विकाससँगै दक्ष आईटी जनशक्तिको माग विश्वभर बढिरहेको छ। त्यसैले आईटी शिक्षालाई सम्भावनायुक्त करियर क्षेत्रका रूपमा विकास गर्न प्राविधिक ज्ञानसँगै व्यावहारिक दक्षता आवश्यक रहेको कलेजको दृष्टिकोण छ।
इन्जिनियरिङतर्फ पनि अनुसन्धान, डिजाइन तथा विकास, म्यानुफ्याक्चरिङ, मार्केटिङ र म्यानेजमेन्टदेखि सञ्चार, कम्प्युटर, इलेक्ट्रोनिक्स, इन्टरनेट, मल्टिमिडिया, सेमिकन्डक्टर तथा सफ्टवेयर उद्योगसम्म करियरका विभिन्न सम्भावना रहेको कलेजले उल्लेख गरेको छ।

‘ज्ञान हासिल गर्ने मात्र होइन, भविष्य निर्माण गर्ने यात्रा’
सीआईटीईका अध्यक्ष/प्रिन्सिपल इन्जिनियर सुधीर गुरागाईंले कलेजको शैक्षिक दृष्टिकोणलाई विद्यार्थीको ज्ञान, सीप, नवप्रवर्तन र नेतृत्व क्षमताको विकाससँग जोड्दै आएका छन्। उनी भन्छन्;
“सन् २००० मा स्थापना भएदेखि नै हामी विद्यार्थीलाई आफ्नो पूर्ण क्षमता हासिल गर्न सक्षम बनाउने गुणस्तरीय शिक्षाप्रति प्रतिबद्ध छौँ। हाम्रा शैक्षिक कार्यक्रममार्फत विद्यार्थीलाई आफ्नो करियरमा उत्कृष्ट बन्न आवश्यक ज्ञान, सीप र मूल्य प्रदान गर्ने हाम्रो प्रयास रहँदै आएको छ। हाम्रा शिक्षकहरूले सिद्धान्त र व्यवहारबीचको दूरी कम गर्दै प्रतिस्पर्धात्मक विश्वका आवश्यकतासँग सामना गर्न सक्ने स्नातक तयार गर्न गतिशील सिकाइ वातावरण निर्माण गरिरहेका छन्।”
उनी थप्छन्, “विद्यार्थीले सिकाइ, नवप्रवर्तन र नेतृत्वका अवसरलाई आत्मसात् गर्नुपर्छ। सीआईटीईमा तपाईंको यात्रा केवल ज्ञान हासिल गर्ने विषयमा सीमित छैन; यो आफ्नो भविष्य निर्माण गर्ने र समाजमा अर्थपूर्ण योगदान पुर्याउने यात्रा पनि हो। उत्कृष्टता, इमानदारी र सेवाका मूल्यलाई कायम राख्न हामी सबैले मिलेर काम गर्नुपर्छ।”
छात्रवृत्तिदेखि करियर काउन्सेलिङसम्म
विद्यार्थीको आर्थिक तथा शैक्षिक अवस्थालाई ध्यानमा राख्दै सीआईटीईले विभिन्न छात्रवृत्ति तथा पुरस्कारको व्यवस्था गरेको जानकारी दिएको छ। इन्ट्रान्स टपर र बोर्ड टपरलाई पूर्ण छात्रवृत्ति, उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई विभिन्न तहको छात्रवृत्ति तथा आर्थिक रूपमा कमजोर र योग्य विद्यार्थीलाई पनि सहायता उपलब्ध गराउने व्यवस्था रहेको उल्लेख छ।
कलेजले करियर काउन्सेलिङलाई पनि शैक्षिक यात्राको महत्वपूर्ण पक्ष मानेको छ। विद्यार्थीले आफूले रोजेको विषय, करियर र भविष्यको सम्भावनाबारे परामर्श लिन सक्ने व्यवस्था गरिएको छ। यससँगै दक्ष शिक्षक, व्यक्तिगत मेन्टरिङ, पुस्तकालय, प्रयोगशाला, बुक बैंक, शैक्षिक भ्रमण तथा गेस्ट लेक्चरजस्ता सुविधाले विद्यार्थीको समग्र विकासमा सहयोग पुर्याउने कलेजको विश्वास छ।
भर्नामा विविध शैक्षिक पृष्ठभूमिका विद्यार्थीलाई अवसर
सीआईटीईका विभिन्न कार्यक्रमले विद्यार्थीको शैक्षिक पृष्ठभूमिअनुसार फरक प्रवेश मापदण्ड अपनाएका छन्। इन्जिनियरिङतर्फ पीयूबाट मान्यता प्राप्त संस्थाबाट विज्ञान समूहमा कम्तीमा ४५ प्रतिशत अंक ल्याएका विद्यार्थी आवेदन दिन सक्ने व्यवस्था छ र बायो समूहका विद्यार्थी पनि योग्य छन्। बीआईटी र बीसीएका लागि गणितसहित वा सम्बन्धित योग्यता भएका विद्यार्थी आवेदन दिन सक्ने तथा व्यवस्थापन, शिक्षा र कला संकायका विद्यार्थीलाई समेत अवसर दिइएको छ। बीबीएका लागि पीयूबाट मान्यता प्राप्त संस्थाबाट कम्तीमा दोस्रो श्रेणी हासिल गरेका विद्यार्थी आवेदन दिन सक्ने उल्लेख छ।
भर्ना प्रक्रियामा लिखित परीक्षा र अन्तर्वार्ता समावेश छन्। आवेदनका क्रममा नागरिकता, एसईई मार्कसिट तथा चारित्रिक प्रमाणपत्र, प्लस टु ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र, माइग्रेशन र प्रोभिजनल प्रमाणपत्रका प्रतिलिपि तथा पासपोर्ट साइजका फोटो आवश्यक पर्ने कलेजले जनाएको छ। नतिजा आउन बाँकी विद्यार्थीले पनि उपलब्ध मार्कसिट वा एडमिट कार्डका आधारमा आवेदन दिन सक्ने व्यवस्था छ।
प्रविधिसँगै व्यक्तित्व विकास
सीआईटीईले विद्यार्थीको शैक्षिक विकासलाई मात्र प्राथमिकता नदिई व्यक्तिगत तथा व्यावसायिक विकासलाई पनि शिक्षाको महत्वपूर्ण हिस्सा मानेको छ। खेलकुद, सांस्कृतिक गतिविधि, प्रतियोगिता तथा विद्यार्थी क्लबमार्फत विद्यार्थीलाई आफ्नो रुचि र प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरिन्छ। खेलकुदतर्फ बास्केटबल, फुटबल, टेबल टेनिस, ब्याडमिन्टन र क्रिकेटजस्ता गतिविधिसँगै गायन तथा नृत्यका कार्यक्रम पनि सञ्चालन हुने जानकारी छ।
यसरी सीआईटीईको शैक्षिक वातावरणमा प्रविधि, प्रयोगात्मक सिकाइ, सहकार्य, सिर्जनशीलता, नेतृत्व र व्यावसायिक अनुशासनलाई एकै ठाउँमा जोड्ने प्रयास देखिन्छ। कलेजले आफूलाई केवल डिग्री प्रदान गर्ने संस्था नभई विद्यार्थीलाई भविष्यको प्रतिस्पर्धात्मक संसारका लागि तयार गर्ने शैक्षिक वातावरणका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।
सन् २००० मा सुरु भएको सीआईटीईको यात्रा आज सूचना प्रविधि, इन्जिनियरिङ र व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसँग जोडिएको छ। बदलिँदो प्रविधि, उद्योगको आवश्यकता र विश्वव्यापी प्रतिस्पर्धाबीच विद्यार्थीलाई ज्ञानसँगै सीप, व्यवहारिक अनुभव र व्यावसायिक मूल्य प्रदान गर्न सकेमा उच्च शिक्षाले वास्तविक अर्थमा करियर निर्माणको आधार तयार गर्न सक्छ। यही अवधारणालाई केन्द्रमा राखेर सीआईटीईले आफ्नो शैक्षिक यात्रालाई निरन्तर अगाडि बढाइरहेको छ ।
स्नेहा झा