काठमाडौं । संगीत स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाइले प्रयोगकर्तालाई आफ्नो प्लेलिस्टमा रहेका गीत, पोडकास्ट तथा अडियोबुकबारे व्यक्तिगत विचार र टिप्पणी लेख्न मिल्ने नयाँ ‘Playlist Notes’ फिचर सार्वजनिक गरेको छ ।
यो सुविधामार्फत प्रयोगकर्ताले कुनै गीतले आफूलाई दिलाउने सम्झना, भावना वा उक्त गीत प्लेलिस्टमा समावेश गर्नुको कारण समेत लेख्न सक्नेछन् । प्लेलिस्ट हेर्न पाउने अन्य प्रयोगकर्ताले पनि ती नोटहरू पढ्न सक्नेछन् ।
स्पोटिफाइका अनुसार सम्पादकहरूले पनि आफ्ना Editorial Playlists मा गीत छनोट गर्नुको कारण उल्लेख गर्दै नोट राख्न सक्नेछन् । सुरुमा यो सुविधा लोकप्रिय तथा चर्चित प्लेलिस्टहरूमा उपलब्ध गराइनेछ ।
यससँगै कम्पनीले सम्पादकहरूका लागि ‘Editor Profiles’ पनि सार्वजनिक गरेको छ । प्रोफाइलमा सम्पादकका मनपर्ने गीत तथा एल्बमसँगै उनीहरूले व्यवस्थापन गर्ने प्लेलिस्टबारे जानकारी पाउन सकिनेछ ।
प्रयोगकर्ताका लागि उपलब्ध Playlist Notes सुविधा iOS र Android दुबैमा उपलब्ध छ । साथै स्पोटिफाइले हाल विश्वभर ३० करोडभन्दा बढी सब्सक्राइबर र ७७ करोड ७० लाखभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता रहेको जनाएको छ ।
कम्पनीका अनुसार नयाँ सुविधाले स्पोटिफाइलाई केवल संगीत सुन्ने प्लेटफर्ममा सीमित नराखी प्रयोगकर्ताबीच अनुभव, भावना र संगीतप्रतिको रुचि साझा गर्ने थप व्यक्तिगत तथा सामाजिक प्लेटफर्मका रूपमा विकास गर्न सहयोग गर्नेछ ।
आईसीटी समाचार